रुद्राक्षको दानामा लगाएकाे प्लाष्टिकको क्लिप प्रहरीले हटायाे

रिपोर्ट नेपाल | 2019 Aug 06 | 01:09 pm 1826

भोजपुर, साउन २१: रुद्राक्षको दाना राम्रो बनाउन भन्दै ठेकेदारले लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । किसानबाट बगान खरीद गरी आफूखुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा ठेकेदारले लगाएको क्लिप हटाएको हो ।

क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयकाे निर्देशनपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जानकारी दिए । उक्त नगरपालिकाको केउरेनीपानी र साल्मा भन्नेस्थानमा रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको प्रहरीको भनाइ छ । प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १ सय ६ र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाएको २ सय २५ क्लिप हटाइएकाे छ ।

नेपाली व्यवसायीले कृषकसँग बोटमै ठेक्का लिएर आफूखुशी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशनअनुसार क्लिप हटाइएको प्रहरीले जनाएको छ ।

चिनियाँ व्यापारीले प्लाष्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अण्डा र थेप्चो आकारमा आवश्यकताअनुसार बनाउने गरे पनि अप्राकृतिक रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अनभिज्ञ रहेका छन् । रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली गुणस्तर र छवि बिग्रने भएकाले क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.