नवलपरासी, भदाै १०: गत साउन २९ गते ट्रक ठोकिदा भाँचिएको पूर्व–पश्चिम राजमार्गको नवलपरासीस्थित अरुणखोलाकाे पुल मर्मतपछि पुलबाटै दुईतर्फी गाडी गुड्न थालेका छन् ।
गत शनिबार डाइभर्सनमा सामान्य क्षति भएपछि केही समय पुलबाटै एकतर्फी यातायात सञ्चालन गरिएको हाे । पुल मर्मतको काम पूर्णरूपमा सम्पन्न भएसँगै गए रातिबाट दुईतर्फीरुपमा यातायात सञ्चालनमा आएको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले जानकारी दिए ।
पुल भाँचिएको १३औँ दिनमा सडक डिभिजन कार्यालय बुटवलको प्राविधिक टोलीले मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । पुल भाँचिदा यातायात सञ्चालनमा कठिनाइ हुनुका साथै वैकल्पिक बाटोका रूपमा बनाइएको ‘डाइभर्सन’ भरपर्दो नहुंदा यात्रुले सास्ती पाएका थिए ।
सडक विभागले ‘डाइभर्सन’बाट यातायात सञ्चालनमा कठिनाइ भएपछि पुललाई छिटोभन्दा छिटो सञ्चालन गर्ने गरी काम गरको थियो । सोहीअनुसार मर्मत सम्पन्न गरिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर हरिप्रसाद सुवेदीले जनाए ।
चाडपर्वको समयसमेत भएकाले तदारुकताका साथ छोटो समयमै पुल मर्मत सम्पन्न गरिएको इञ्जिनीयर सुवेदीले बताए । विगतका वर्षमा यहाँका पुल भाँचिदा महीनौंसम्म बन्न नसक्दा यात्रुले सास्ती झेल्नु परेकाे थियाे ।