रुकुममा जीप दुर्घटना : एउटै गाउँपालिकाका सातको मृत्यु, चार जान घाइते

| 2018 Jul 18 | 07:06 pm 3858

 रुकुम साउन २: रुकुम पूर्वको सिस्ने गाउँपालिकामा जीप दुर्घटना हुँदा एउटै गाउँपालिकाका सात जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सिस्ने गाउँपालिका ६ छिप्रीदहबाट यात्रु लिएर धौलापहिरा तर्फ गइरहेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना सिस्ने गाउँपालिका ५ धारापानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि मृत्यु हुने मा पुथाउत्तरगंगा गाउँपालिका–२ का किरण पुन, वडा नं. १ का बुद्धिराज पुन र सोही ठाउँका कुमार पुन, वडा नं. १३ की तिर्सना तुलाचन, वडा नं. १४ कीसालिना बर्मा, भुमरी ४ का अर्जुन विक र बाँकेकी ललिता परियार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुसार दुर्घटनामा परेर मुसिकोट नगरपालिका १२ छिवाङ् का जयबिर कामी, पुथाउत्तरगंगा गाउँपालिका ११ का प्रमिला बुढामगर, वडा नं. २ का सम्झना पुन मगर, र सोही ठाउँका धनीराम पुन घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक रिजालले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारको नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

दुर्घटनाको नेपाली सेना, नेपाल प्रहरीले, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । ११ जना यात्रु रहेको जीप घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.