राहदानी सङ्ग्रहालय स्थापना

रिपोर्ट नेपाल | 2021 Aug 24 | 07:10 am 1405

काठमाडौँ, भदौ ८ः नेपालको राहदानी प्रचलनको अभिलेख राख्ने उद्देश्यसहित राहदानी विभागले राहदानी सङ्ग्रहालय स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको विभागले नेपालको राहदानीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासम्म पु-याउन राहदानी सङ्ग्रहालय स्थापना गरेको हो ।

विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार नेपालमा राहदानी प्रयोगको इतिहास अभिलेखीकरण गर्न सङ्ग्रहालयले सघाउनेछ । विभागले नेपाली नागरिकको विदेश आवागमनका लागि कानुनी राहदानी जारी गर्नुका साथै त्यस्ता कागजपत्र व्यवस्थित गर्ने काम गर्छ ।

राहदानीको इतिहास कायम रहोस् भन्ने मनसायका साथ राहदानी सङ्ग्रहालय खुलाइएको विभागका निर्देशक तथा प्रवक्ता राजेन्द्र पाण्डेले बताउनुभयो । हालसम्म निकै पुराना दुईवटासहित ६० वटा राहदानी सङ्कलन भइसकेको छ । राहदानी सङ्ग्रहालयलाई भौतिक सामग्रीसहित अवलोकन गर्नेभन्दा पनि डिजिटल रूपमै विश्वका जुनसुकै कुनाबाट हेर्न मिल्ने बनाउने अभियान विभागले थालेको उहाँले बताउनुभयो ।

सङ्ग्रहालयमा आइपुगेका दुई पुराना राहदानीमध्ये एक राहदानी इन्दुशमशेर थापाको नाममा सन् १९५९ नोभेम्बर १९ मा जारी भएको राहदानी छ । उहाँका छोरा गौरवशमशेर थापाले केही दिनअघि मात्रै विभागलाई सङ्ग्रहालयमा सुरक्षित राख्न राहदानी हस्तान्तरण गर्नुभएको थियो । प्राचीन नेपाली शैलीमा निर्माण गरिएको सो राहदानीको भित्री पाना तथा भिसाको मिति तोक्ने पानाहरूको उल्लिखित विवरणले नेपालको पुरानो कालखण्डको भाषा झल्काउने गर्छ ।

ऐतिहासिक राहदानीको रोचक जानकारी दिने भएकाले त्यो राहदानी सङ्ग्रहालयको महìवपूर्ण गहना मानिएको पाण्डेले बताउनुभयो । त्यो राहदानी निर्माण गर्दा नेपाल सरकारको नाममा छपाइ भएको देखिन्छ तर पछि श्री ५ को सरकार बनाइएको पाइएको छ ।

लन्डनस्थित नेपाली दूतावासबाट जारी गरिएको त्यो पुरानो राहदानीमा दूतावासका तत्कालीन प्रथम सचिव झरेन्द्रनारायण सिंहले हस्ताक्षर गर्नुभएको छ । सङ्ग्रहालयलाई प्राप्त यो नै हालसम्मको पुरानो राहदानी हो । योभन्दा पनि पुरानो नेपालको कालखण्ड देखाउने अन्य राहदानीको पनि खोजी भइरहेको विभागले जनाएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.