राहदानी विधेयकले संसदमा ठाउँ पाएन

रिपोर्ट नेपाल | 2019 Aug 16 | 08:02 am 1678

काठमाडौं, साउन ३१: राहदानी विधेयकमाथि संसदमा छलफल नहुँदा पारित कहिले हुने भन्नेबारे अन्योल भएको छ। प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचार गर्नुपर्ने भन्दै फिर्ता आएपछि संसद्ले यसलाई अघि बढाएको छैन। यस विधेयकमाथि संसद्मा एकपटक मात्र छलफल भएको छ।

विधेयकलाई फेरि नयाँ विधेयककै प्रक्रियामा अघि बढाउनुपर्ने भएपछि विधेयकमाथिको छलफल रोकिएको हो। नयाँ प्रक्रिया अपनाउँदा राष्ट्रियसभा र प्रतिनिधिसभामा छलफल पुन छलफल गर्नुपर्ने हुन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयकलाई पुनर्विचार गर्नुपर्ने भन्दै प्रतिनिधिसभामा गत जेठ ८ गते फिर्ता पठाएकी थिन्। संसदमा अन्य विधेयक पनि छलफलमै रहेकाले राहदानी विधेयकलाई ठाउँ दिइएको छैन।

विधेयक कहिले पारित हुन्छ भन्ने अन्योलमै रहेका बखतमा सरकारले संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरिरहेको छ। संसद् अधिवेशन अन्त्य भएमा राहदानी विधेयक पारित गर्ने प्रक्रिया लम्बिने छ। अहिलेसम्म विधेयक अघि बढाउन नखोजेपछि चालु अधिवेशनमा राहदानी विधेयकमाथि छलफल हुनसक्ने अवस्था नदेखिएको संसद् सचिवालय स्रोतले बताएको छ। यो विधेयक फेरि प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल हुनुपर्ने भएका कारण चालु अधिवेशनमा पारित हुन सम्भावना नभएको स्रोतले बतायो।

संसद् नियमावलीको नियम १३६ उपनियम १ र २ मा राष्ट्रपतिबाट फिर्ता भएको विधेयक कसरी अघि बढाउने भन्नेबारे उल्लेख छ। फिर्ता भएको विधेयकबारे महासचिव वा सचिवले प्रतिनिधिसभामा जानकारी दिने वा अधिवेशन नभएको अवस्थामा सूचना जारी गर्ने व्यवस्था सो नियममा छ।

विधेयक फिर्ताबारे जानकारी दिएपछि बसेको प्रतिनिधिसभाको कुनै बैठकले त्यस्तो विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि सदनमा पुनर्विचार गरियोस् वा पुनर्विचारका लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्नुपर्ने व्यवस्था छ। समितिले दिएको प्रतिवेदन पारित भएपछि त्यसलाई अर्को सदनमा पठाइन्छ।

राहदानी विधेयक बजेटमाथिको छलफलका कारण केही समय पर धकेलिने बताए पनि बजेट पारित भएको महिना बितिसके पनि यो विधेयकले ठाउँ पाएको छैन। नागरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.