राष्ट्रिय व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा

| 2020 Jul 08 | 05:05 pm 1643

काठमाडौं, असार २४ः विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि अछुतो नरहेका कारण व्यापार व्यवसाय गुमाएका र आर्थिक संकटमा परेका व्यवसायीहरुलाई सरकारले सहयोग नगरेको भन्दै व्यवसायीहरु आन्दोलित हुने भएका छन् ।

नेपाल राष्ट्रिय व्यावसायी महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि सरकारले बैंकिङ साँवा तथा ब्याज भुक्तानीको समय सीमा थप गरी कर्जाको ब्याजमा २ प्रतिशतको छुटसहित घरभाडा छुटको घोषणा गरेपनि कार्यान्वयन नभएको भन्दै सो प्रतिवद्धता अबिलम्ब पूरा गर्न आग्रह गरेको छ ।

महासंघका अध्यक्ष नरेश काटुवालद्वारा हस्ताक्षरित विज्ञप्तीमा ६ सूत्रीय माग राखेका छन् । लकडाउन अवधिको बैंकको व्याजदरमा शतप्रतिशत छुट पाउनु पर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सारिनुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योग, व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गरिनु पर्ने, स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गरिनु पर्ने र लकडाउन अवधिभरको व्यवसायीक घरभाडा पुरै छुट गरिनु र्ने माग अघि सारेको छ ।

सरकार विरुद्धको आन्दोलन घोषणा गरेको महासंघले पहिलो चरणमा भोलि बिहिबार ९ बजे माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ । त्यसपछि सरकार कसरी प्रस्तुत हुन्छ सोही अनुसार अघि बढ्ने महासंघको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.