काठमाडौं, साउन २६: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेक शिखर सम्मेलनको तयारी स्वरुप सचिवस्तरीय बैठक काठमाडौंमा जारी छ।
आगामी भदौं १४ र १५ गते काठमाडौंमा हुने बिमष्टेकको चौथो शिखर सम्मेलनको एजेण्डाबारे छलफल गर्न बिमस्टेक आवद्ध मुलुकका परराष्ट्र सचिवहरुको बैठक बसेको हो। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गरेका छन्।
छलफलमा भुटानका सोनम सोङ्ग, बंगलादेश शहिदुल हेग, म्यानमार यु क तिन, थाईल्याण्ड बुसाया मेथेलिन र श्रीलंकाका प्रसाद कारियावासम सहभागी छन्। उनीहरु हिजै काठमाडौं आएपनि भारतीय सचिव विजय केशव गोखले भने बिहानमात्र त्रिभुवन विमानस्थलमा अवतरण गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ।
जारी बैठकले सदस्य राष्ट्रका कार्यकारी प्रमुख सहभागी हुने शिखर सम्मेलनमा प्रस्तुत हुने एजेण्डा तय गर्नेछ। सम्मेलनले पछिल्लो समय सडक सञ्जाल, व्यापार, पर्यटन, लगानी, ऊर्जा, प्रविधि आदानप्रदान, प्राकृतिक प्रकोपलगायत एजेन्डामा छलफल गर्दै सम्बोधनमा जोड दिने गरी काम अघि बढेको छ।
शिखर सम्मेलनमा अन्तरदेशीय अपराधको जोखिम, आतंकवाद र विध्वंसको खतरा, चरमपन्थी अतिवाद, हातहतियार र लागूऔषध ओसारपसारलगायत विषयमा छलफल हुने बताइएको छ।