काठमाडौं, बैशाख १५ः कर्णाली प्रदेशको डोल्पा पहिलोपटक राष्ट्रिय विद्युत प्रसारण प्रणालीमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारणलाइन निर्माण गरेर विद्युत पुर्याएको छ ।
प्राधिकरणले उक्त प्रसारणलाइनको परीक्षण सम्पन्न गरी बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । योसँगै सदरमुकाम दुनैलगायतका क्षेत्रमा विद्युत आपूर्ति दिन सुरु भएको छ ।
डोल्पासँगै कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन् । अब हुम्ला र मुगुमा राष्ट्रिय ग्रिडको विद्युत सेवा पुग्न बाँकी छ । मुगुमा आगामी असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारणलाइन निर्माण भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लाहरुको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।