राष्ट्रियसभामा रिक्त एक पदका लागि आज लुम्बिनी प्रदेशमा मतदान

| 2021 May 31 | 07:55 am 1677

बुटवल, जेठ १७ः राष्ट्रियसभामा रिक्त एक पदका लागि आज (सोमबार) लुम्बिनी प्रदेशमा मतदान हुँदैछ । माओवादी केन्द्रबाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । निर्वाचन कार्यालय दाङका प्रवक्ता गेहेन्द्र कुँवरले निर्वाचन सकिएलगत्तै मतगणना शुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए । निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट आज नै सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुई जना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् । उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३ सय जना मतदाता छन् ।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.