राष्ट्रियता र नेपाली काँग्रेस

रिपोर्ट नेपाल | 2018 Dec 24 | 04:30 pm 1634

नेपालमा पञ्च मार्का कम्युनिस्टले राष्ट्रियताको नारालाई धेरै भजाए । जनतालाई भ्रम पार्न केही हदसम्म सफल पनि भए तर के उनीहरुको नारा सच्चा राष्ट्रियतामा आधारित थियो त ? किमार्थ थिएन ।

विशेष गरी तराई मधेस बारेमा उनीहरुको दृष्टिकोण नकारात्मक थियो र देशलाई संकटतिर धकेल्दै थियो । देशका वनजंगल, सार्वजानिक स्थलहरु र राष्ट्रिय सम्पत्तिलाई उनीहरुले कहिल्यै माया गरेनन् ।

सहानुभूतीशील भएनन् । नेपाली काँग्रेस भने तराई मधेसका सवाललाई सकारात्मक रुपले हेरेर त्यहाँका जनाले अहिलेसम्म वेहोर्न परेको भेदभाव र असमनताको अनुभूतिलाई आत्मसात गरेर सहानुभूतिपूर्वक उनको भावनाको कदर गर्दै तराई मधेसलाई राष्ट्रको मूलधारभन्दा अलग अनभव गर्न दिएन र राष्ट्रिय एकाता काय गराउने काम गर्यो । राष्ट्रियताको बारेमा नेपाली काँग्रेस यथार्थपरक दृष्टिकोण राख्दछ । राष्ट्रियता सम्बन्धमा काँग्रेसको धारणाः–

देशभक्त

प्रथमतः नेपाली काँग्रेस राष्ट्रियतालाई देशभक्तिको रुपमा बुझ्दछ । राष्ट्रियता भनेको राष्ट्रको पक्षधरता, देशभक्ति भनेको त्यो भन्दा पनि गहिराइमा गएर राष्ट्रलाई माया गर्नु हो । राष्ट्रप्रति त्यागको भावना हो ।

राष्ट्रियता प्रतिको पक्षधरताबाट राष्ट्रवाद आएको छ । राष्ट्रवादबारे प्रश्नहरु उठ्दै आएका छन् । हालै फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोनले राष्ट्रवादको कडा आलोचना गरेका छन् । राष्ट्रवादलाई देशभक्ति प्रतिको धोखा हो भनेका छन् । उनले राष्ट्रवादले नै जर्मनीलाई फेरि बिनाशको गर्तमा पुर्याएको कुरा सम्झे होलान् ।

आफ्ना महत्वकांक्षका लागि राष्ट्रलाई जोखिममा होइन राष्ट्रका लागि आफूलाई जोखिममा राख्ने । राष्ट्रको सम्पत्तिहरुको माया, राष्ट्रका प्रकृतिको माया, राष्ट्रका जनता र संस्कृतिको माया र तिनका लागि त्यागको भावना देशभित्रका विविधता र पहिचानहरुलाई सहअस्तित्वमा ल्याएर अनेकतामा एकाता कायम गर्दै दिगो शान्ति र प्रगतिका लागि समर्पित हुनु देश भक्ति हो ।

काँग्रेसको आदर्श र मान्यताले गर्दा नै आफूले क्रान्ति गर्दा पनि राष्ट्रको डुंगा खल्बलिन्छ कि भनेर शंवेदनशील रह्यो जस्तो बीपीका राष्ट्रिय एकता तथा मेलमिलाप । महत्वपूर्ण सार्वजानिक स्थल र वनजंगलमा मान्छे बसाएर भोट माग्ने काम काँग्रेसले गरेन ।

राष्ट्रियता सम्पत्ति तोडफोड गर्ने र जनता मार्ने काम काँग्रेसले गरेन । जनतालाई आतंकित पार्ने काम गरेन । आवश्यक पर्दा निरंकुश सत्तालाई मात्र आतंकित गरायो । त्यसै भएर काँग्रेस राष्ट्रियतालाई देशभक्तिको रुपमा लिन चाहान्छ । नेपालको भू–राजनीतिक अवस्था अति संवेदनशील छ भन्ने बुझेर नेपालमा राष्ट्रिय एकाता अक्षुण्य राख्न चाहान्छ, सजगता पूर्वक परराष्ट्र नीति संचालन गर्न चाहान्छ ।

बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय, विविधतायुक्त हिमाल, पहाड तराई–मधेस सम्मिलित हाम्रो राष्ट्रियता, सयौं फूलका थुँगा हामी एउटै माला नेपाली भावनाको धागोले गाँसिएका छौं । हिमाल पग्लेर, पहाडको छाती रसाएर मधेु सिंचित हुँदाको आनन्द पनि हामीले बाडेर लिनुछ भने पहाड भत्केर छाती चिरिदा र मधेसको धर्ती पुरिएर दर्द थपिदाको पीडा पनि हामीले मिलेरै व्यहोर्नु छ ।

हामी कहाँ जाने ? सबै मिलेर यही रहनु छ । एकअर्काको भाषा भेषभूषाको सम्मन र कदर गर्दै विपद प्रकोपको सामाना गर्दै हाम्रा कलात्मक हातहरुले तिनको व्यवस्थापन गर्दै समृद्धिको यात्रामा हातेमालो गर्दै अघि बढ्नु छ । यही हाम्रो राष्ट्रियता हो । हामी पहाडी, मधेसी, जनजाति, आदिवासी आधुनिकवासी इतिहासको कुन–कुन परिेवेशमा जुनजुन भूमिकामा रहेपनि आज हाम्रो नियती एउटै छ ।

आपसमा सम्मान बाँडेर सबै स्वाभिमानका भागिदर बनेर हिजोका मान अपमानका दागहरु मेटाएर हामी बीच होस्टेहैसेको लयमा पौरख अघि बढाउनु छ । यसैबाट हाम्रो राष्ट्रियतामा मजबुत हुन्छ । राष्ट्र सबल र समृद्ध बन्छ । हामी सुखी नेपाली बन्छौं ।

हामी हाम्रो गौरबगाथा गाउँदा र वीरताको बखान गर्दा सीताले सारा ब्यूझाइन् दक्षिण लंका भारत, भृकुटी तारा उदाइन उत्तर चीन तिब्बत, बुद्धले यही ल्याएथे ज्ञानको पहिलो मुहान, शिवले यही ल्याएथे सृष्टिको पहिलो बिहान, भनेर हामी तराई मधेसको सीता र जनक अनि बुद्ध प्रति गर्व गर्छौं भने पहाड हिमालका भृकुटी र शिवप्रति घमण्ड गर्छौं । अभिमान गर्छौं । आर्य, मंगोल र आग्नय सभ्यता र परम्परा मिश्रीत हाम्रो राष्ट्रियता, अनेकतामा एकता हाम्रो राष्ट्रियता ।

सिंजा, मिथिला र उपत्यकाको अन्तर्मिलन, हिन्दु र बौद्ध धर्मको सम्मिलन फुट्ने होइन, जुटी लड्ने हाम्रो आत्मीय एकाता । नेपाली काँग्रेसको बुझाइमा राष्ट्रियताको स्वरुप यही नै हो । नेपाली काँग्रेस हिमाल पहाड तराई कोही छैन पराई भन्ने सिद्धान्तमा विश्वास गर्छ । मधेसबाट उठेको नेपाली काँग्रेस पहाड ढाक्दै हिमाल चुम्न पुगेको छ । (रामचन्द्र पाैडेलद्वारा लिखित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.