राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी ओली सहभागी नहुने

| 2019 Aug 29 | 07:33 am 1950

काठमाडौं, भदाै १२: राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले बताए ।

प्रधानमन्त्री ओली हाल स्वास्थ्योपचार क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा छन्। अझै एक सातासम्म उपचार क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शारीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उनी सहभागी नहुने निर्णय भएको हो। यसबारे परराष्ट्र मन्त्रालयले न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगलाई जानकारी गराइसकेको छ।

भदौ ३१ देखि सुरु हुने बैठकमा असोज ७ देखि मात्रै उच्चस्तरीय बैठक सुरु हुनेछ। यसैगरी ४/४ वर्षमा आयोजना हुने ‘सहस्राब्दी लक्ष्यको अद्यावधिक मूल्यांकन’ र ‘विकासका लागि लगानी’ विषयक उच्चस्तरीय बैठकसमेत बस्ने भएको छ। सुरुको कार्यतालिकामा प्रधानमन्त्री ओलीको असोज १० मा महासभामा सम्बोधन गर्ने पालो तोकिएको थियो।

परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल असोज ५ मा न्युयोर्क पुग्नेछ। ‘कम विकसित साना मुलुकको चासो, विश्वव्यापी स्वास्थ्य सरोकार, मौसम परिवर्तन मुद्दा, विकासका लागि लगानीजस्ता राष्ट्रसंघीय महासभा एजेन्डामा नेपालले आफ्नो धारणा प्रस्तुत गर्नेछ,’ सचिव बैरागीले कान्तिपुरसँग भने। महासभामा मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन तथा निःशस्त्रीकरण, अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा विषयक विश्वव्यापी स्थितिबारे छलफल हुने भएको छ।

महासभामा नेपालले असोज १३ मा आफ्नो धारणा राख्नेछ। महासभा बैठकमा वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, योजना आयोगका सदस्य कृष्णप्रसाद ओली र स्वास्थ्य सचिव पुष्पा चौधरीसहितका उच्च पदाधिकारी सहभागी हुनेछन्। कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.