राष्ट्रपति विद्या सेनाको जंगी अड्डामा

| 2018 Jun 21 | 08:11 pm 3022

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको जंगी अड्डा पुगी त्यहाँको कामकारवाही र गतिविधिबारे आज जानकारी लिएकी छिन् । नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले नेपाली सेनाले हालसम्म निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उच्च मनोबल तथा हौसलाका साथ सरकारले प्रदान गरेको जिम्मेवारीलाई सम्पन्न गर्न निर्देशन दिएको जङ्गी अड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको तथा विशिष्ट चरित्र भएको नेपाली सेनालाई आवश्यक सहयोग गर्न रक्षा मन्त्रालय तथा सरकार सदैव सकारात्मक रहेको बताए ।

यस्तै, प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले सदैव राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखी कार्य गर्दै आइरहेको उल्लेख गर्दै सेनाको सवलीकरण, सुदृढीकरण र सांगठनिक विकासका लागि सरकारबाट प्राप्त सहयोग तथा भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

नेपाली सेनाको जिम्मेवारी, संगठन तथा नीति नियम, अपरेशनल गतिविधि र कल्याणकारी कार्यसम्बन्धी नेपाली सेना सम्बन्धित विभागका रथी तथा अधिकृतले सो अवसरमा जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.