काठमाडौं, वैशाख ११ : नौ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) चीन प्रस्थान गरेकी छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा करिब ८० जनाको टोली बोकेर राष्ट्रपति भण्डारी चीन प्रस्थान गरेकी हुन् ।
उनी नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायतका विशिष्ट व्यक्तिहरु समेत सहभागि छन् ।
उक्त नौ दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ। त्यसक्रममा नेपालमा रेल, सुरुङमार्ग, अन्तरदेशीय विद्युत् प्रसारण लाइन लगायतका विषयमा छलफल हुने बुझिएको छ । साथै दुई देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर पनि हुने बताइएको छ ।
राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणकै क्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको बताइएको छ ।