काठमाडौं, कात्तिक २१ः राष्ट्रपति विद्यादेवी भण्डारी केहीबेर अघि आइसल्याण्ड प्रस्थान गरेकी छन् । छ दिने भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी आज साँझ आइसल्याण्ड प्रस्थान गरेकी हुन् ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणमा गएकी हुन् ।
राष्ट्रपति भण्डारीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित पुगेका थिए । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
यसैबीच, राष्ट्रपति कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गरेकाले उनले गर्दै आएका कार्यहरू उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेगरी राष्ट्रपतिले तोकेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले सो जानकारी दिएका हुन् ।