राष्ट्रपति भण्डारीद्वारा संघीय संसदकाे बजेट अधिवेशन आह्वान

| 2020 May 04 | 07:48 am 1478

काठमाडाैं, बैशाख २२: राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् । आइतबार सरकारको सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेस गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

जेठ १५ अगावै पूर्व–बजेट छलफल गर्ने परम्परा छ । नयाँ संविधान जारी भएयता पूर्व–बजेट छलफलका लागि वैशाखको दोस्रो साताबाट बजेट अधिवेशन आह्वान गर्ने गरिएको छ । तर, यो वर्ष कोरोनाको कारण कारण उत्पन्न जनस्वास्थ्यसम्बन्धी गम्भीर समस्याका कारण सरकारका नीति तथा कार्यक्रम र पूर्व–बजेट छलफल अपेक्षाकृत पर्याप्त मात्रामा हुन नसक्ने भएको छ ।

पूर्व–बजेट र नीति तथा कार्यक्रममाथिको छलफलको अवधि कम गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग लागिपरेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.