राष्ट्रपति कोलिन्दाले सर्वोत्कृष्ट खेलाडी लुका र प्रशिक्षकलार्इ अँगाल्दै भावनाले रोइन् (फोटोफिचर)

| 2018 Jul 16 | 02:34 pm 4101

काठमाडौं, असार ३२ : क्रोएसियाका कप्तान लुका मोड्रिच फिफा विश्वकप फुटबल २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले गोल्डेन बल अवार्ड जित्दाको क्षण खुसी र भावनाले माहौल अर्कै बन्यो । त्यही बेला झमझम पानी परेको थियो । क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर किटारोभिकले लुकालार्इ अँगालो मारेर भावुक भइन् ।

राष्ट्रपति कोलिन्दा खुसी र भावनाले रोएकी थिइन् । लुका मोड्रिच पनि सुनको बल उचाल्दा निकै भावुक थिए । एकातिर फाइनल उपाधि जित्न नसक्दाको पीडा, अर्कोतिर उपविजेता र सर्वोत्कृष्ट खेलाडी घोषित हुँदाको खुसीले उनलार्इ भावुक बनाएको थियो ।

राष्ट्रपति कोलिन्दाले आफ्नो राष्ट्रिय टिमका प्रशिक्षक डालिकलार्इ समेत पानीमा लछप्पै भिज्दै अँगालो मारिन्, दुवै भावुक मुद्रामा थिए । उसो त राष्ट्रपतिले आफ्नो देशको टिमका अन्य खेलाडीलार्इ पनि अँगालेकी थिइन् । साथै विजेता टिम फ्रान्सका युवा खेलाडीको उपाधि पाएका एम्बाप्पेलार्इ पनि उनले अँगालोमा बेरिन् ।

क्रोएसियाले राम्रो खेलेर विश्वकै दर्शकको भावना पाएको छ भने विश्वकपको उपाधि उचाल्न चुक्दा धेरैको सहानुभूति पनि पाएको छ । राष्ट्रिय टिमका कप्तान समेत रहेका लुकाले विश्वकपको सर्वोत्कृष्ट खेलाडीको उपाधि पाउँदा पनि राष्ट्रपति र प्रशिक्षक उत्तिकै खुसी देखिए । लुकाकै उत्कृष्ट प्रदर्शन र नेतृत्वमा क्रोएसिया फाइनलसम्म पुगेको हो ।

विश्वकप २०१८ मा मिडफिल्डर लुकाले क्रोएसियाका लागि दुई गोल गरे । र, दुई गोलका लागि अवसर सिर्जना गरे । उनी यो खेलभरि धेरैको आशा र सहानुभूतिको पात्र समेत बने ।

राष्ट्रपति कोलिन्दाले खेलाडीको भावनाको कदर त गरिन् नै विश्वकै दर्शकको मन समेत जित्न सफल भइन् । उनको यो फुटबल क्रेज र भावनालार्इ लिएर ट्विटरमा ट्रेन्डिङ नै चलेको छ । देशको सर्वोच्च पदमा रहेका शासकको यो सरलता, विनम्रता र एेक्यबद्धताले धेरैको मन छोएको हो । भनिँदैछ( यसपटक विश्वकप फुटबलको उपाधि फ्रान्सले जित्यो, क्रोएसियाले विश्वकै मन जित्यो । उत्कृष्ट खेलाडीका अलावा राष्ट्रपति, प्रधानमन्त्री लगायत नेताहरूको कारण पनि क्रोसियातर्फ विश्वको ध्यान गएको हो ।

विश्वकप २०१८ सकिएको छ । यसको उपाधि फ्रान्सले जित्यो भने गोल्डेन बुट इंग्ल्यान्डका कप्तान एवं स्टाइकर ह्यारी केनले जितेका छन् । साथै युवा खेलाडीको उपाधि फ्रान्सका कालियन एम्बाप्पेले जिते । उनले प्रतियोगितामा फ्रान्सका लागि ४ गोल गरेका थिए । १९ वर्षीय एम्बाप्पेले फाइनलमा पनि गोल गरे।

विश्वकपको उत्कृष्ट गोलकिपरले पाउने गोल्डेन गोल्भ्स भने बेल्जियमका गोल किपर थिबाउट कोर्टोइसले हात पारे । बेल्जियम विश्वकपको तेस्रो स्थानमा रह्यो भने चौथो स्थानमा इग्ल्यान्ड रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.