काठमाडौँ भाद्र २ : मन्त्रिपरिषद्को मंगलबारको बैठकले पेश गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन्। अध्यादेशमा पार्टीको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले दल विभाजन गर्न पाउने व्यवस्था राखिएको छ। अध्यादेश जारी भएसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया सुरू गरिसकेका छन्।
जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्ने भएको छ। बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि ठाकुर पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न लागेका हुन्। ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी नेपाल (लोकतान्त्रिक) नाम राख्ने भएको हो। पार्टीको चुनाव चिन्ह साइकल राख्ने बताइएको छ।