काठमाडौं, चैत १ : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर शुक्रबार स्वदेश फर्केकी छन् ।
राष्ट्रपति भण्डारी शुक्रबार दिउसो साढे ४ बजे कतार एयरलाइन्सबाट नेपाल आइपुगेकी थिइन् । उनकाे स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रेड कार्पेट ओछ्याइएको थियो । तर, राष्ट्रपति भण्डारी हिड्नु अघि नै एउटा ठूलो सर्प रेड कार्पेटमा दौडियो ।
राष्ट्रपतिको स्वागतको समाचार संकलन गर्न पुगेका मिडिया प्रतिनिधि नजिकबाट निस्किएको सर्प रेड कार्पेट हुँदै विमानस्थलतर्फ गएको थियो । अचानक सर्प आइपुग्दा हतारिएका मिडियाकर्मी र सुरक्षाकर्मीलाई छल्दै सर्प भने झाडीमा पसेको थियो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रपति कुटनीतिक समुदाय, संयुक्त राष्ट्रसघंका पदाधिकारी, व्यापारिक समुदायलगायतसँग भेटघाट गरेकी थिइन् ।