काठमाडौँ, भदौ २३ :वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मन्त्रिमण्डल तत्काल हेरफेर हुने सम्भावना नरहेको बताएका छन् ।
जिल्ला समन्वय समिति महासङ्घ नेपालले शनिबार आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असन्तुलित बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला मच्चाएको उल्लेख गर्दै राम्रो काम गरिरहेमा कुनै पनि मन्त्री नहट्ने बताए।
भेलामा सहभागी अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने छ महिनापछि धूलो र हिलोरहित काठमाडौँ हुन्छ । बाटो, ढल बन्छ । हामी इमान्दारिताका साथ काम गर्छौं । पानी ल्याउन पाइप हाल्न खन्नैपर्यो । बनाउने क्रममा यस्तो हुन्छ । दुई वर्षभित्र काठमाडौँका बाटा पक्की हुन्छ । कालोपत्र सकिन्छ । यसमा कोही आत्तिएर केही हुँदैन, सरकार ढल्दैन ।
चीनसँग भएकाको पछिल्लो पारवहन सहमति उल्लेखनीय भएको जनाउँदै अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण शुरु हुने बताए । सङ्घीय गणतन्त्रको सफलता र असफलता स्थानीय तहको प्रभावकारितासँग जोडिएकाले गतिशील, सेवामुखी, पारदर्शी र स्वच्छ तथा जनताका साथमा रहेका जनप्रतिनिधिका रुपमा काम गर्न जिससका प्रतिनिधिलाई आग्रह गरे ।
मुलुकी फौजदारी देवानी कार्यविधि संहिता एक वर्षअघि संसद्बाट पारित भई हाल कार्यान्वयनमा आएकाले कुनै संशोधन गर्नुपर्ने भएमा सरकार तयार रहेको बताउँदै त्यसका नाममा सडकमा प्रदर्शन नगर्न आग्रह गरेका छन्।
महासङ्घका प्रतिनिधिले आफूहरुलाई स्रोत र साधन दिएर अनुगमन र समन्वयको प्रभावकारी भूमिका राख्न आग्रह गरेका थिए ।