काठमाडौं, साउन २५: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक)का अध्यक्ष पशुपति शमशेर राणाले पार्टीका सबै निकायका कार्यकर्ताले जनताको मन जित्ने रचनात्मक काम गरेर संगठन सुदृढीकरण गर्नुपर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय प्रजातान्त्रीक महिला संगठन (प्रजातान्त्रीक) ले गरेको रक्तदान कार्यक्रममा रक्तदातालाई प्रमाणपत्र दिने क्रममा अध्यक्ष राणाले उक्त कुरा बताएका हुन् ।
हामीसँग खेर गईरहेको रगतले कसैका ज्यान बचाउने भएकोले आज महिला संगठनले सबै भन्दा ठूलो रक्तदान कार्यक्रम राखेर प्रशंसनीय काम गरेको बताएका थिए ।

महिला संगठनले जस्तै अन्य भातृ संगठनले पनि जनतालाई प्रत्यक्ष सहयोग हुने कार्यक्रम राख्न पनि आग्रह गरेका थिए । अध्यक्ष राणाले रक्तदान जस्तो पवित्र कार्यक्रममा राजनीतिक कुरा गर्नु भन्दा मानवीय जिवनसँग सम्बन्धीत कुरा गर्नु उचित भएकोले आफूले यस्तो पवित्र कार्यमा राजनीतिक कुरा गर्न नचाहेको बताए ।
सरकार अत्यन्तै घृणित र तानाशाही प्रवृतीले अघि बढीरहेको यो बेलामा पनि हामी यस्तै जनताको मनमस्तिष्क जित्ने काम लिएर अघि बढ्नुपर्ने राणाले बताए । रक्तदान कार्यक्रमको उद्घाटन बरिष्ठ उपाध्यक्ष दिपक बोहराले गरेका थिए ।
आफ्नो उद्घाटन मन्तव्य राख्दै नेता बोहराले रक्तदान जिवन दान भएकोले महिला संगठनले राखेको कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए । कार्यक्रमको संयोजक पूर्व राज्यमन्त्री कमलादेवी शर्मा रहेकी थिइन । रक्तदान कार्यक्रममा ४३ जना कार्यकर्ताले रक्तदान गरेका थिए ।
फाेटाे फिचर


