काठमाडौं, जेठ २९: संवैधानीक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्र जस्तो राष्ट्रवादी राजालाई दलहरुले बुझ्न नसकेको बताएका छन् ।
अध्यक्ष थापाले मुलुकको इतिहासमा यो भन्दा राष्ट्रियता संकटमा नपरेको पनि बताएका छन् । अध्यक्ष थापाले राजा महेन्द्रको १००औं जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् । थापाले अगाडी भने राजा महेन्द्रले सुरु गरेको राष्ट्रियता र विकासको कदमलाई राप्रपाले आत्मसात् गरेर अघि बढ्नेछ ।
पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुकलाई राजा महेन्द्रले भावनात्मकरुपमा एकीकरण गरेको बताउँदै वर्तमान शासकहरुले देशलाई चिरा चिरा पार्न थालेको आरोप लगाए ।
परराष्ट्रविद् रमेशनाथ पाण्डेले विदेशी प्रभावमा नपरी राष्ट्रिय हितमा काम गर्ने नेतृत्वको अभाव खड्कीएको बताए ।
नेपालको परराष्ट्र नीतिमा आमूल परिवर्तनको खाँचो रहेको भन्दै उनले दुवै छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
यस्तै, नेकपा मालेका महासचिव सीपी मैनालीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि राजा महेन्द्रले चालेको कदमलाई वर्तमान पिंढीले पनि कुनै पूर्वाग्रहविना आत्मसात् गर्नुपर्ने बताए ।