काठमाडौं, असाेज ३: राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि असोज १५ भित्रै उम्मेदवार छनोट गर्ने भएको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा हुने निर्वाचनका लागि पार्टीको उम्मेदवार छनोट गर्न १५ असोजसम्मको समयसीमा तोकेको हो ।
राप्रपाले उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार प्रदेश कार्य समिति र सम्बन्धित जिल्लाको सिफारिसमा केन्द्रले निर्णय गर्ने व्यवस्था गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
स्थानीय तहका मेयर, अध्यक्ष, उपाध्यक्षका उम्मेदवार सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कार्य समितिले छनोट गर्ने र वडा अध्यक्षका उम्मेदवार गाउँपालिका वा नगरपालिका कार्य समितिको सिफारिसमा जिल्ला कार्य समितिले छनोट गर्ने निर्णय राप्रपाले गरेको छ ।
बैठकले केही विभागमा रहेका प्रमुखहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ । जसअनुसार अन्तराष्ट्रिय सम्बन्ध विभाग अध्यक्ष कमल थापाले आफै राखेका छन भने सदस्य सचिवमा प्रा.डा. गीताभक्त जोशीलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी प्रदेश समन्वय समितिको प्रमुखमा वरिष्ठ नेता दीपक बोहोरा र सदस्य सचिवमा सहायक महामन्त्री राजेश गिरी, प्रदेश ५ को इन्चार्जमा उपाध्यक्ष प्रेमबहादुर भण्डारी, मानव अधिकार तथा कानुन विभागको प्रमुखमा उपाध्यक्ष टंक ढकाल, सदस्य सचिवमा सहायक महामन्त्री रेणुदेवी साहलाई जिम्मेवारी दिइएको छ । यस्तै अन्य केही विभागमा समेत जिम्मेवारी हेरफेर गरिएको राप्रपाले जनाएको छ । राजधानी दैनिकबाट