राप्रपाको निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

रिपोर्ट नेपाल | 2022 Oct 31 | 01:43 pm 1533

काठमाडौं, कात्तिक १४ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । ‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले सोमबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वअध्यक्षहरु पशुपति समशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र पार्टीका पदाधिकारीहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमार्फत राप्रपाले राजसंस्थालाई अभिभावकिय संस्थाको रुपमा राख्नुपर्ने बताएको छ । त्यस्तै, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद हुनुपर्ने उल्लेख गरेको छ । त्यसैगरी, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानिय तह भएको दुई तहको शासकीय संरचना हुनुपर्ने राप्रपाको एजेण्डा छ । पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बताए । उनले एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था हुनुपर्ने कुरा पनि घोषणापत्रमा समावेश गरिएको उल्लेख गरे।

राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ती छानबिन गरी अवैध सम्पत्ती जफत गर्ने कानुनी व्यवस्था मिलाइने उल्लेख गरेको छ । अध्यक्ष लिङदेनले विद्यमान सम्पत्ती शुद्धीकरण ऐनमा सुधार ल्याइने बताए । उनका अनुसार राजनीतिक दल रहित संवैधानिक परिषद् निर्माणको व्यवस्था गरिनेछ भने संवैधानिक अङ्गका नियुक्तिलाई राजनीतिक भागबण्डाबाट मुक्त गरी निष्पक्ष, वस्तुगत र पारदर्शी बनाइनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त तुल्याइने घोषणापत्रमा उल्लेख छ भने न्यायपालिकाको विश्वसनियता पुनर्स्थापित गर्नका लागि न्यायपालिकालाई पुनःसंरचना गरने अध्यक्ष लिङदेनको भनाइ छ ।

राप्रपाले आफ्नो घोषणापत्रमा नेपालको शान्तिक्षेत्र प्रश्तावलाई पुनर्जीवित गर्ने भनेको छ । असंलग्न र पञ्चशीलमा आधारित सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै छिमेकी मुलुक लगायतका सबै मित्रराष्ट्रहरुसँग समनिकटताको सम्बन्ध कायम गरिने उल्लेख गरिएको छ । नेपालको भूभाग कसैको बिरुद्ध प्रयोग हुन नदिने पनि उल्लेख गरिएको छ । त्यस्तै सबै प्रकारका असमान सन्धि, सम्झौताहरुको संशोधन तथा खारेजीका लागि आवश्यक कुटनीतिक प्रयास गरिने बताइएको छ ।

राप्रपा अध्यक्ष लिङदेनले राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताए । उनले आफ्नो पार्टीको प्राथमिकता पार्टीको मुद्दाहरु स्थापित गर्न केन्द्रित हुने स्पष्ट पारे । उनले भने, ‘‘विगतको सत्ता केन्द्रित राजनीतिको तितो अनुभवबाट शिक्षा लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता केन्द्रित राजनीति गर्ने छैन ।

आगामी दिनमा राप्रपाको प्राथमिकता राप्रपाको मुद्दाहरु स्थापना गर्न केन्द्रित हुनेछ । आगामी संसदमा जनताको चाहना र अभिमतलाई आफ्नो मुल आधार मानेर आफ्नो भुमिका निर्धारण गर्नेछ ।’

घोषणापत्रमा राप्रपाले नेपाल बन्द कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ । स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्याँस तथा पेट्रोलियम पद्धार्थ ढुवानी तथा वितरण लगायतका औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्णरुपमा प्रतिवन्ध लगाइने बताएको छ ।

 (पूर्णपाठ)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.