रुपन्देही, असार १ः लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्वस्थ भएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ । मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २७ वर्षीया मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेपछि प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याइएको थियो ।
राज्यमन्त्री विमलाका प्रेमी भनिएका एकराज बस्नेतका श्रीमती मीना र छोरीलाई कुटपिट गरेको आरोप लागेपछि राज्यमन्त्री वलीलाई मंगलबार राति नै बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वलीलाई राति करिब १ बजेको समयमा अस्पताल भर्ना गरिएको थियो । ‘उहाँलाई अस्पताल ल्याउँदा बेहाेस् हुनुहुन्थ्याे’, डा. ढकालले भने, ‘प्रेसर कम थियो, सुगरको मात्रा बढी थियो, स्लाइन दिएर अस्पतालमा जाँच गर्यौँ ।’ उनका अनुसार अस्पतालमा उपचाररत राज्यमन्त्री वलीको प्रेसर घटबढ भइरहेको छ ।