राजस्व संकलनको लक्ष्य भेट्टाउन कठिन

रिपोर्ट नेपाल | 2022 Dec 19 | 07:59 am 965

काठमाडौं, पुस ४ः विगतका वर्षझैं चालू आर्थिक वर्ष २०७९/८० मा पनि सरकारलाई राजस्व संकलनको लक्ष्य भेटाउन कठिन देखिएको छ ।

चालू आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मका लागि सरकारले ४ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, हालसम्म जम्मा ३ खर्ब ७ अर्ब रुपैयाँ मात्र राजस्व उठेको छ । यो चालू आवको समीक्षा अवधिका लागि यसअघि तय गरिएको अनुमानित लक्ष्यको ७१ प्रतिशत मात्रै हो । यो अवधिमा तय गरिएको अनुमानित लक्ष्यभन्दा १ खर्ब २३ अर्ब रुपैयाँ कम राजस्व उठेको छ ।

हालसम्मको अवस्थाअनुसार चालू आर्थिक वर्षको बाँकी आगामी सात महिनाको अवधिमा सरकारले राजस्व संकलनको लक्ष्य भेट्न निकै कठिन हुनेछ ।

आन्तरिक रावस्व विभाग र भन्सार विभागको तथ्यांकअनुसार हालसम्मको समीक्षा अवधिमा लक्ष्यभन्दा निकै कम राजस्व उठेको देखिएको हो । आन्तरिक राजस्व विभागले यसअघि सरकारले विभिन्न विलासिताका वस्तुमाथि लगाएको आयात प्रतिबन्धका कारण अपेक्षाकृत रूपमा राजस्व संकलन नभएको बताएको छ । यसैगरी, विभागले लामो समय कायम रहेको आयात प्रतिबन्धको असर अहिले मुलुकको राजस्वमा देखिएको बताएको छ ।

सम्बन्धित व्यवसायी एवं सरोकारवालाले पनि लामो समय सरकारले सवारीसाधन, विदेशी मदिरालगायत विभिन्न वस्तुहरूलाई विलासिताका सामग्री भनेर आयात नै बन्द गरिदिएकाले मुलुकको राजस्व संकलनमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको बताउँदै आएको छ । उनीहरूले सरकारले यस्ता वस्तुमाथि लामो समय प्रतिबन्ध लगाएकै कारण अहिले राजस्व संकलनको दर ह्वात्तै घटेको दाबी गरेका छन् ।

उनीहरूका अनुसार सरकारले विभिन्न भन्सार नाकामा भन्सार शुल्कसहित मूल्यअभिवृद्धि कर र अन्तःशुल्क समेत उठाउँछ । भन्सार विभागबाट मात्रै चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म कुल २ खर्ब ५७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो । तर, सो लक्ष्यमा पनि ब्रेक लगेर समीक्षा अवधिमा जम्मा १ खर्ब ५७ अर्ब रुपैयाँ मात्र राजस्व उठेको छ । यो लक्ष्यको ६१ प्रतिशत मात्र हो ।

यसैगरी, समीक्षा अवधिको अन्तिम महिना मंसिर एक महिनामा मात्र भन्सार विभागबाट ५५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो । तर, २८ अर्ब रुपैयाँ मात्र उठेको भन्सार विभागले जनाएको छ ।

सरकारले आयात नियन्त्रण गरी वैदेशिक मुद्राको सञ्चितीदर बढाउन अनेकौं प्रयास गरेअनुसार आयात घटेसँगै भन्सारबाट असुली हुने राजस्व संकलनको दर पनि न्यून भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आवको कात्तिक महिनामा आयात १८.०८ प्रतिशतले घटेर ५ खर्ब ३२ अर्ब रुपैयाँमा सीमित भएको छ ।

यसैगरी, आन्तरिक राजस्व विभागले साउनदेखि मंसिर मसान्तसम्ममा १ खर्ब ७४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, सो अवधिमा जम्मा १ खर्ब ५० अर्ब रुपैयाँ मात्र राजस्व उठाउन सफल भएको छ । यो लक्ष्यको ८६.३७ प्रतिशत हो ।

यो अवधिमा आन्तरिक राजस्व विभागले आयकर (घरबहाल कर, ब्याज कर र पुँजीगत लाभकरसहित), मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर र शैक्षिक करतर्फको शीर्षकबाट सो राजस्व उठाएको हो । यस्तो करसँगै आन्तरिक राजस्व विभागको मासिक असुली लक्ष्यको ७७.४९ प्रतिशत मात्र छ ।

यसैगरी, आन्तरिक राजस्व विभाग मातहत उठाइने करमा पनि वार्षिक ३ प्रतिशतले कमी आएको विभागले जनाएको छ । यही अवधिमा गत वर्ष विभागले १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व उठाएको थियो । यो विभागले मंसिर एक महिनामा मात्र ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको थियो । सो अवधिमा लक्ष्यभन्दा निकै कम जम्मा २५ अर्ब ७४ करोड मात्र राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व विभागले यो अवधिमा उठाएको मध्ये मूल्य अभिवृद्धि कर र अन्तःशुल्क शीर्षकको राजस्वमा सबैभन्दा धेरै कमी आएको हो । गत वर्ष साउनदेखि मंसिरसम्म ४४ अर्ब ५३ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठाएकोमा यसपालि जम्मा ४२ अर्ब रुपैयाँ मात्र उठेको विभागले जनाएको छ ।

त्यसैगरी, विभागले गत वर्षको सोही अवधिमा ४२ अर्ब ४५ करोड रुपैयाँ अन्तः शुल्क उठाएको विभागले यसपालि जम्मा ३९ अर्ब ७४ करोड रुपैयाँ मात्र उठाउन सफल भएको बताएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.