राजस्वका अनुसन्धान अधिकृतहरू सकस र दबाबमा, पाँच दिनसम्म दावाको बयानै हुन सकेन

| 2023 Aug 04 | 07:25 am 1901

काठमाडौं, साउन १९ । राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा मुख्य योजनाकार मानिएका दावा छिरिङलाई पक्राउ गरेको पा“च दिन बितिसक्दासमेत उनीसँग बयान लिन सकेको छैन । उक्त प्रकरणमा विभागले उपसचिव नेतृत्वको विभिन्न तीनवटा टोलीहरू अनुसन्धानका लागि परिचालन गर्दै आइरहेको भए पनि सो टोलीले दावासँग पाँच दिनदेखि बयान लिन नसकेको बताइएको छ ।

पछिल्ला दिनमा विभागका अनुसन्धान अधिकृतहरू थप दबाब र सकसमा पर्न थालेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार दावा पक्राउ परेलगत्तै विभागमाथि विभिन्न खाले दबाब पर्न थालेकोले अनुसन्धान प्रभावित हुन सक्ने खतरा बढेको छ ।
विभागका एक अधिकृतले दावा बोल्न नमानेकाले पाँच दिनदेखि बयान नै लिन नसकिएको बताए । यद्यपि, दावाको मोबाइलको ‘कल डिटेल्स’ लिने काम भइरहेको र उनको इलेक्ट्रिक डिभाइसलाई प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको ती अधिकृतले जानकारी दिए ।

विभागको अनुसन्धान टोलीले आवश्यकताअनुसार सशस्त्र प्रहरीको सहयोगमा सुन तस्करीसँग सम्बन्धित ठाउँमा छापा मार्ने, प्रमाणका आधारमा संलग्नहरूलाई पक्राउ गर्ने तथा अनुसन्धान गर्ने काम गर्दै आइरहे पनि पछिल्ला दुई तीन दिनदेखि विभागको सक्रियामा केही कम आउन थालेको देखिएको छ ।

विभागको टोलीले गत आइतबार दावाको स्वामित्वमा ठमेलमा रहेको भियना होटेलमा छापा मारी दावालाई पक्राउ गरेको थियो । सुन तस्करी प्रकरणको मुख्य व्यवस्थापकमध्येका एक रहेको विभिन्न प्रमाणको आधारमा उनलाई पक्राउ गरिएको विभागका अनुसन्धान अधिकृतहरूले बताएका छन् ।

विभागले पक्राउ गरेको पाँच दिनसम्म पनि उनको बयान लिन नसक्नुले थप आशंका जन्माएको छ । यसैबीच दावाको केही उच्च राजनीतिक नेतृत्वसँग सम्बन्ध रहेका प्रमाणहरूसमेत सार्वजनिक भइरहेका छन् । केही माओवादी नेताहरूको उनीसँग बसउठ समेत देखिएको छ । स्रोतका अनुसार दावास“ग बयान लिंदा केही राजनीतिक व्यक्तित्वहरूसमेत मुछिन सक्ने देखिएकाले विभागमाथि पछिल्ला दिनमा अनावश्यक खालका दबाबहरू पर्न थालेको छ ।

विभागले भने पक्राउ परेका १८ जनामध्ये केहीको मात्रै बयान लिइएकाले सबैलाई पालोपालो बयान लिइने बताएको छ । पक्राउ परेकामध्ये अधिकांशको कलडिटेल्स आइसकेको र सोही आधारमा अन्य केही व्यक्तिहरूसमेत उच्च निगरानीमा रहेको विभाग स्रोतले जानकारी दिएको छ ।

दावा पक्राउ पर्नुअघिसम्म सुन तस्करी गर्ने भरिया तथा सहयोगी मात्रै पक्राउ परेका थिए । तर, गत आइतबार दावा पक्राउ परेसँगै सुन तस्करीको थप सञ्जाल पक्राउ पर्ने विश्वास गरिएको थियो । तर, अहिलेसम्म अन्य कोही पक्राउ पर्न सकेका छैनन् । विभागका अधिकारीहरूले पनि सुन तस्करीको क्रम र प्रवृत्ति हेर्दा यसमा ठुलै खालका व्यापारी तथा राजनीतिक नेतृत्वको समेत संलग्नता रहेको हुन सक्ने आशंका गर्दै आइरहेका थिए । तर, त्यस्तो सञ्जालका बारेमा विभागले पछिल्लो समय कुनै थप सूत्र फेला पार्न नसकेको स्रोतले बतायो ।

विभागकै अनुसन्धान अधिकृतहरूका अनुसार तस्करीमा विशेष गरी तीनवटा मुख्य समूहको चीनबाट कारोबार गर्ने, नेपालमा ‘रिसिभ’ गर्ने र त्यसलाई भारतमा लगेर बिक्री गर्ने समूहको संलग्नता रहेको देखिन्छ । छिरिङ पक्राउ परेलगत्तै विभागका अनुसन्धान अधिकृतहरूमा सुन तस्करीको जालो फेला पर्न सक्ने आशा पलाए पनि अहिले उनीहरू विभिन्न खाले दबाबले अनुसन्धान प्रभावित हुन सक्छ की भनेर चिन्तित देखिएको स्रोतको भनाइ छ । – नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.