राजपा सासंदले सोधे, ‘प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ ?’

रिपोर्ट नेपाल | 2018 Sep 14 | 12:18 pm 1842

काठमाडौं, भदौ २८: राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवको विषयमा संसद्‍मा सर्वदलीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै उनलार्इ गिरफ्तारीको विषयमा जवाफ माग गरेको छ।

संसदको शुक्रबारको बैठक सुरु भए लगतै राजपाका सांसदहरुले उठेर विरोध गरे । लगतै सभामुखले समय दिएपछि बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्णले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको बताए । उनले प्रश्न गरे, प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ ?’

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा यादव पक्राउ परेको र प्रहरीको यातनाका कारण मृत्यु भएको उनको दाबी छ ।
कालो झण्डा देखाउनु सबैभन्दा शान्तिपूर्ण विरोध प्रदर्शन भएको भन्दै राजपा सांसद कर्णले भने, कोला भण्डा नदेखाएर के भाला बन्दुक देखाउने पर्ने थियो ?

प्रहरी हिरासतमा निर्मम कुटपिट भएकै कारण यादवको मृत्यु भएको भन्दै उनले घटनाबारे छानविन गर्न संसदले सर्वदलीय समिति बनाउनुपर्ने माग गरेका छन् ।

‘राममनोहर सिके राउतका कार्यकर्ता थिए’

गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता भएको बताएका छन् ।

यादवको हत्या भएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसदहरुले शुक्रबार संसद अवरुद्ध गरेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री बादलले यादव सीके राउत समूहका कार्यकर्ता भएको र राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको जानकारी दिए ।

यादवको मृत्यु प्रहरी यातनाका कारण नभई रोगका कारण भएको पाइएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.