राजपा केन्द्रीय कार्यालयका १२ कर्मचारी बर्खास्त

रिपोर्ट नेपाल | 2018 Nov 02 | 07:44 am 1296

काठमाडौं, कार्तिक १६ : राजापको केन्द्रीय कार्यालयमा कार्यरत १२ जना कर्मचारी एकैपटक बर्खास्तीमा परेका छन्। कार्यालय प्रयोजनका लागि हुने खरिदमा आर्थिक अनियमितता गरेपछि ती कर्मचारी बर्खास्तीमा परेका हुन्।

२९ असोजमा पार्टीले तलब र दसैँ खर्च दिँदै आइन्दा कार्यालय नआउन भनेको थियो। कर्मचारी बर्खास्तीमा परेपछि राजपाको केन्द्रीय कार्यालयको चिठीपत्र तयार गर्ने कोठा बन्द छ। राजपाको केन्द्रीय कार्यालय बबरमहलमा सारेदेखि नै कर्मचारीहरू आर्थिक अनियमिततामा मुछिएका हुन्।

पार्टी एकताको क्रमसँगै ६ वटै समूहबाट आएका कर्मचारीहरूबीच सुरुदेखि आर्थिक कारोबारका विषयमा विवाद भइरहेको थियो। राजपाबाट बर्खास्तीमा परेका एक कर्मचारीका अनुसार आर्थिक कारोबारको जिम्मा पाएका प्रदीप पाठकले कमिसन एक्लै बुझ्ने गरेको भन्दै पार्टी पदाधिकारीलाई अन्य कर्मचारीले पटकपटक सुनाउने गरेका थिए।

कार्यालयको पुनर्निर्माण तथा आवश्यक सामग्री खरिद गर्दा कमिसन लिने गरेको भन्दै पार्टीभित्र निकै पहिलादेखि चर्चा भइरहेको थियो। यही प्रकरणका कारण कार्यालय सचिव प्रदीप पाठक र राजेश चौधरीबीच बोलचाससमेत बन्द थियो। खुला प्रतिस्पर्धाबाट नयाँ कर्मचारी भर्ना गर्न पुराना कर्मचारीलाई हटाएको महासचिव मनीष सुमनले जानकारी दिए। सुमनका अनुसार कार्यालयमा जथाभावी भइरहेको भन्ने गुनासो व्यापक आएका कारणले पनि उनीहरूलाई हटाइएको हो।

राजपाको कार्यालयमा समूहगत कर्मचारी थिए। पूर्वतमलोपाका ६ जना कर्मचारी थिए। संयोजक महन्थ ठाकुरको स्वकीय सचिव सतेन्द्र मिश्र, प्रदीप पाठक, सुरेन्द्र मण्डल, तिलक राउत, विद्यानन्द झालगायत कर्मचारी थिए। त्यसैगरी, राजेन्द्र महतोको समूहबाट राजेश चौधरी र दिलीप साह थिए। शरतसिंह भण्डारी समूहबाट रञ्जित सिंह र महेन्द्रराय यादवबाट महावीर शाही थिए।

राजपाका सचिवसमेत रहेका राजाराम पासवनले समेत तलब लिने गरेका थिए। राजेन्द्र महतो पक्षधर पासवान केन्द्रीय कार्यालयमा काम गर्दैनथे। तर, उनी राजपाको कार्यालयबाट सबैभन्दा धेरै तलब बुझ्ने कर्मचारीमा पर्थे। पासवानको तलब २७ हजार १ सय रुपैयाँ थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.