काठमाडौं, पुस ७ : प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानमा ‘विशेष अपरेसन’ चलाउँदै ७० भन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि विदेशी नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । प्रहरीले ‘विशेष अप्रेसन’ मार्फत बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट विदेशी नागरिक पक्राउ गरेको जनाएको छ ।
‘७० जनाभन्दा बढी नागरिक पक्राउ गरेका छन्, उनीहरूको गैरकानुनी धन्दाको विस्तृतबारे पछि जानकारी दिन्छौं,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने । पक्राउ परेकामध्ये धेरै चिनियाँ नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।
चिनियाँ नागरिक पछिल्लो समय बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूको गतिविधिमाथि निगरानी बढाएको छ ।