काठमाडौं, मङ्सिर १३। सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो।
टिकटक बन्द भएपछि औपचारिक र अनौपचारिकरूपमा चिनियाँ अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सरकारका उच्च अधिकारीसँग सो निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री दाहाललाई भेटेरै टिकटक बन्द गर्ने निर्णयबाट आफू दुःखी भएको बताएका थिए। भूराजनीतिक प्रभावले हो वा सामाजिक सद्भाव बिगारेकाले हो ? कुन कारणले नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो भन्नेबारे स्पष्ट हुन नसकेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल नियमन गर्न सरकार अग्रसर रहेको र त्यसका लागि बलियो कानुन बनेपछि पुनः सञ्चालनमा ल्याउन सकिने राजदूत सोङलाई आश्वासन दिएका थिए। प्रधानमन्त्री दाहालले जति स्पष्टीकरण दिए पनि टिकटक एप बनाउने चीन भने सरकारको निर्णयलाई लिएर सशंकित बनेको छ।
टिकटक बन्द गर्ने निर्णय भएलगत्तै चिनियाँ अधिकारीहरूले विभिन्न माध्यममार्फत् सरकारसँग असन्तुष्टि पोखिरहेका छन्। टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी विरोध भए पनि प्रधानमन्त्री दाहालले सामाजिक सद्भाव बिगारेको र समाजमा विकृति फैलाएकाले टिकटक बन्द गर्नुपरेको सार्वजनिकरूपमै स्पष्टीकरण दिँदै आएका छन्। गत बुधबार चिनियाँ राजदूत सोङले प्रधानमन्त्री दाहाललाई बालुवाटारस्थित उनको सरकारी निवासमा भेट गरेका थिए।