राउटे समुदायमा महिला बढी

| 2021 Nov 29 | 08:05 am 933

सल्यान, मंसिर १३ः कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको पनि जनगणना गरिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ कारागाउँमा बस्दै आइरहेका राउटे समुदायको पनि जनगणना गरिएको हो ।

कारागाउँमा बस्दै आइरहेका उनीहरुले शुरुमा जनगणना गराउन मानेका थिएनन् तर पछि भने जनगणना गराउन राजी भएका थिए । २०७८ सालको प्रारम्भिक जनगणना गर्दा उनीहरुको संख्या १ सय ४५ पुगेको छ । पुरुष ६९ जना र महिला ७६ गरी जम्मा १ सय ४५ राउटे रहेका छन् भने ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।

उनका अनुसार गणक टोलीले राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेको हो । पछिल्लो चरणमा मृत्युदर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका उनीहरुको जन्मदर र मृत्युदर उत्तिकै मात्रामा रहेको छ । स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जंगलमा फिरन्ते जीवन बिताउने नेपालकै अतिलोपोन्मुख जातिमा पर्दछ ।

यो समुदाय दुई महिनाअघि मात्रै सल्यानको पश्चिम वनगाड कुपिन्डे नगरपालिका–११ बालुवासंग्रही बाँगी रह हुँदै भेरी किनारदेखि एक सातामै सोही नगरको वडा न १ घाटगाउँमा बसाइँ सरेको थियो । एक सातायता राउटे पुनः नगरको वडा १ नाम्रा हुँदै अहिले वडा नं ३ को कारागाउँमा बसाइँ सरेका छन् । सोही क्षेत्रमा बसाइँ सरेका राउटेको पनि गणना भएको छ । सरकारले भत्ता उपलब्ध गराउँदै आएसँगै उनीहरुको जीवनशैली फेरिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.