रहेनन् कलाकार तथा गायक जयनन्द लामा

| 2022 Feb 23 | 11:18 am 1765

काठमाडौं, फागुन ११ः लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको बुधबार निधन भएको  विभिन्न संचार माध्यममा खबर प्राप्त भएकाे हाे ।

२०२७ सालबाट लोकगीत गाउन शुरू गरी पछिल्ला केही वर्षयता डिमान्डेड अभिनेताका रूपमा छाउँदै आएका लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।

प्राप्त जानकारी अनुसार आज बिहान घरमै गाडीबाट लडेको अवस्थामा उनी मृत अवस्थामा फेला परेका थिए । अहिले लामाको शव पोष्टर्माटमका लागि अस्पताल लगिएको बुझिएकाे छ । उनी सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका हुन् । लामालले चलचित्र र टेलिश्रृंखलामा लगायत धेरै लोकगीत गाएका छन् । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

यस्तै, नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए । यसैगरी लाेकप्रिय बनेका लामाकाे निधन प्रति चिरपरिचित सबैले सामाजिक संजालमा चिरशान्तिकाे कामना गर्दै समवेदना प्रकट गरेका छन् । उनी प्रति रिपाेर्ट नेपाल परिवार हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछाैं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.