रसुवा नाकाबाट १५ करोडको सामग्री चीन निर्यात

रिपोर्ट नेपाल | 2023 Apr 04 | 02:15 pm 881

रसुवा, चैत २१ः बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ। केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले  दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन्।

चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार  १५ करोड बराबरको नेपाली सामग्री चीनको केरुङतर्फ निर्यात  भइसकेको छ। निर्यात भएका  सामग्रीमा बाँसका मुढा, कपडा, कार्पेट, भाँडाकुँडा, हातेकागज, हस्तकलाका सामग्री समेत छन्।

उक्त सामग्रीमध्ये बाँसको मुढा मात्रै साढे तीन करोड मूल्य बराबर निकासी भएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिए। यस्तै, आयात तथा निर्यात वस्तुको शुल्कबाट रसुवा भन्सार कार्यालय रसुवाले चालू आवको आठ महिनामा रु चार अर्ब १८ करोड राजस्व आर्जन गरेको छ।

आयात कमी हुँदा सामानका शुल्क बापतको राजस्व कमी भएको र अबका दिनमा केरुङबाट काठमाडौँसम्म नेपाली कन्टेनर सिधा आवतजावतको वातावरणले आयात सामग्रीको परिमाण बढ्न गई राजस्व बढ्ने आशा गरीएको छ।

चीनबाट स्याउ, ओखर, अदुवा, लसुन जस्ता वस्तु आयातमा कमी हुँदै गएको बताइएको छ। जुत्ता, चप्पल, तयारी पोसाक, बच्चाका खेलौना,  मोटरका पार्टपुर्जा, विद्युतीय कार, जिप, स्काभेटर, टिपर, थर्मस, रोल कपडा, इलेक्ट्रिक सामान, जलविद्युत् उत्पादनका उपकरणलगायत विविध  सामग्री आयात भएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.