रसुवा, असार २२ः लामो समयदेखि बन्द रहेको नेपाल–चीन रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ। कोरोना महामारीका कारण विगत ६ महिनादेखि यो नाका बन्द रहेको थियो।
नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेपछि आजदेखि सञ्चालनमा ल्याइएको रसुवागढी भन्सार कार्यालयले जानकारी दिएको छ।
कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बिहान ८ बजे नाकाबाट ढुवानीको काम सुरु गरिएको बताए।
दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खोलिएको उनले जानकारी दिए।
नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १ सय २० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ।
मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने भन्सार कार्यालयले जनाएको छ।
व्यवसायीहरु चीनतर्फ जान नपाउने र रसुवागढीसम्म जानका लागि पनि जिल्ला प्रशासनको पास अनिवार्य गरिएको खड्काले जानकारी दिए ।