पोखराको अन्तर्राष्ट्रिय विमानस्थल रसुवागढी नाकाबाट निर्माण सामान आउन थाल्यो

रिपोर्ट नेपाल | 2018 Jun 14 | 04:22 pm 4610

पाेखरा, जेठ ३१ : पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको छ । निर्माण सुरु भएसँगै निर्माण सामाग्री रसुवागढी सीमा नाकाबाट सामान धमाधम आउन थालेको छ ।

निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेकामा १४ वटा टिपर चिनियाँ नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङतर्फबाट रसुवागढी भन्सार प्रतिनिधि दोर्जे तामाङले बताए । उनका अनुसार अन्य १२ वटा टिपर र दुईवटा पानी ट्याङ्कर चिनियाँ भन्सार कार्यालयबाट नेपाल आउने प्रक्रियामा छन् ।

विमानस्थल निर्माणकै लागि अन्य ४० वटा निर्माणका सवारीसाधन केरुङ आइसकेको बताउँदै उनले ती सामग्री पनि केही दिनमा नै प्रक्रिया पुर्‍याएर नेपाल ल्याइने बताए ।  चिनियाँ निर्माण कम्पनीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आठ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको विमानस्थल निर्माण आयोजना कार्यालयका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

चिनियाँ निर्माण कम्पनीमार्फत निर्माणको काम अघि बढिरहेको जानकारी दिँदै कम्पनीका इन्जिनियर अभिषेक उलकले निर्माण सामग्री नेपाल चीनबीचको नाका रसुवागढीबाट आउने क्रममा रहेको जानकारी दिँदै सामान केही दिनमा पोखरा आइसक्ने बताए । आगामी चार वर्षभित्र यो विमानस्थल पनि सञ्चालनमा आउने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.