काठमाडौं, भदाै ९: पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवी लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्। चितवन जिल्ला अदालतले रवीलाई धराैटी बापत पाँच लाख, युवराजलाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारिखमा रिहा गरेका हुन् ।
रिहा हुनु अघि दाेषी ठहरिएका रवी लामिछानेलाई सम्मानित अदालतले धराैटीका साथै विभिन्न शर्तहरू समेत पालना गर्नुपर्ने फैसला गरेकाे छ । अब रवीले प्रहरी हिरासतबाट निस्किए पनि यो मुद्दाको अन्तिम किनारा नलागेसम्म् आफुखुसी विदेश जान नपाउने भएका छन् । विदेश जानुअघि उनले अदालतको लिखित अनुमति लिनुपर्नेछ।
त्यस्तै शालिकरामको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दा किनारा नलागेसम्म हरेक महिना अदालतमा तारेख धाउनु पर्नेछ।
रवीले हिरासतमा रहँदा यदि बाहिर निस्कन पाएमा शालिकरामका दोषी तीन मिनेटमा पत्ता लगाउने बताएका थिए। तर अदालतको आदेशले अब उनले यो प्रकरणबारे कार्यक्रममा बोल्ने या सार्वजनिक टिप्पणी गर्न नपाउने भएकाे छ ।
अदालतमा विचाराधीन मुद्दा र उनी त्यसका अभियुक्त भएकाले यसबारे उनले आफ्नो च्यानलबाट केही बोल्न नपाउने भएका छन्। तर उनले चलाइरहेको कार्यक्रम चलाउन भने उनीमाथि रोक नलागेको जनाइएकाे छ। यो मुद्दामा सोमबार सरकारबाट तीनजना सरकारी वकिलले सोमबार बहस गरेका थिए। बहस गर्नेमा यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापा रहेका थिए।
साथै मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुद्दाका अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, मुद्दाका पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक लाइभ, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन रोक लगाइएको छ ।