काठमाडौं । बुधबार बिहानदेखि सुरु भएको सिमसिमे वर्षा अझै रोकिएको छैन। बुधबार दिउँसो बाक्लो हमपातकै कारण ताप्लेजुङमा मन्त्री रविन्द्र अधिकारीसहित सात जना चढेको हेलीकोप्टर दुर्घटना भयो।
उक्त दुर्घटनामा सातै जनाको घटनास्थलमै ज्यान गयो। बिहिबार रातभर राजधानीको आकाश एकोहोरो वर्षीयो। अहिले देशको अधिकांश भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै पश्चिमी तथा उच्च हिमाली भेगहरुमा हिमपात भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार पश्चिमी वायुका कारणले यो वर्ष मौसममा गडबडीको अवस्था देखिएको हो ।
माघ फागुनमा पनि लगातार वर्षा किन भइरहेको छ ? बासी भन्छिन्, “अघिल्ला वर्षको तुलनामा पश्चिमी वायुको सक्रियता बढी छ । छोटो अवधिका लागि आउने र १, २ दिनमै अन्त्य हुने भएकाले यसवर्ष लगातार पानी परिरहेको हो । यो अघिल्लो वर्षको तुलनामा बढी हो । माघ र फागुनमा लगातार पानी पर्नाको कारण यही हो ।”
महाशाखाले आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जनाएको छ । तराइका भूभागमा पानी पर्ने सम्भावना कम छ भने हिमाली र पहाडि क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ ।
त्यस्तै, बिहीबार दिउँसो देशको पूर्वी तथा मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहने जनाइएको छ । देशको पूर्वी भूभाग लगायत मध्य र पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।