रचनात्मक आलोचना गर्न मुख्यमन्त्री गुरुङको आग्रह

रिपोर्ट नेपाल | 2018 Oct 24 | 03:09 pm 3563

कास्की, कात्तिक ७  : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसके पनि आशा मरिनसकेको बताएका छन् । मुख्यमन्त्री गुरुङले उक्त कुरा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले बुधबार गरेको एक कार्यक्रममा बताएका हुन् । उनले आलोचना सहन नसक्ने शासकले निरंकुशताको बाटो समात्ने भन्दै शासकले रचनात्मक आलोचनालाई स्वीकार्नुपर्ने बताएका छन्।

संविधान निर्माण तथा राष्ट्रियताको सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सन्देशले नेपालीमा ठूलो आशा जगाएको बताउँदै मुख्यमन्त्री गुरुङले त्यो आशा नमरे पनि जनअपेक्षाबमोजिम काम हुन नसकेको तितोसत्य पोखेका थिए । उनले आशा अझ मरेको छैन तर जुन गति र योजनाका साथ काम हुनुपर्थ्यो त्यो हुन सकेन यो दुःखद् विषय हो ।

संघीय सरकारका मन्त्रीहरू जनताको कामलाई भन्दा व्यक्तिगत लोकप्रियताका पछाडि लागेको मुख्यमन्त्री गुरुङको आरोप छ । मन्त्रीहरू साँच्चै नै संविधान कार्यान्वयन गर्न गएको कि व्यक्तिगत पपुलारिटीका लागि छुट्याउन आफूलाई गाह्रो परेको बताए । गुरुङले भने, प्रदेश र स्थानीय सरकारका समस्या समाधान गर्न गएको जस्तो लागेको छैन। संघीय सरकारका लागि प्रदेश तथा स्थानीय सरकार सबै बराबर हुनुपर्नेमा त्यस्तो नदेखिएको उनले गुनासो गरे।

संघीय सरकारप्रति लक्षित गर्दै उनले आफ्नो सरकारले रचनात्मक आलोचनालाई सधैँ स्वागत गर्ने बताउँदै जुन शासकले आलोचना सहन सक्दैन त्यो शासक तानाशाहीको दिशातिर लाग्छ । प्रतिपक्ष तर्फ इंकित गर्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीलाई तपाईँ जति पनि आलोचना गर्न सक्नुहुन्छ तर ध्वंसात्मक होइन रचनात्मक आलोचना गर्नुस् हाम्रो सरकार त्यसलाई ग्रहण गर्न तयार छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.