सुदुरपश्चिम, चैत ६: सुदुरपश्चिम पृतना हेडक्वाटरका पृतनापति बालकृष्ण कार्कीले यही चैत २ गते उक्त पृतना हेडक्वाटर अन्तरगत श्री नं ५ बाहिनी अड्डा, तेघरी व्यारेक, धनगढीमा समुद्घाटन गरी शुभारम्भ गर्नु भएको पाँच दिने रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमको आज बिहीबार चैत्र ६ गते श्री नं ५ बाहिनी अड्डाका बाहिनीपति होमनाथ दवाडीले एक कार्यक्रमबीच समापन गरेका छन् ।
नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा बझाङ्ग, कञ्चनपुर, कैलाली, अछाम, डोटी, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका विभिन्न मिडिया हाउसमा कार्यरत १९ जना रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।
नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रीय तथा सबै पृतना स्तरमा सञ्चारकर्मीहरुलाई समावेश गरी रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।