सुर्खेत, माघ २३: गत आइतबारदेखि श्री उत्तर पश्चिम पृतना हेड क्वाटर सुर्खेतमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमको आज बिहिबार पृतनापति उपरथी सरोज प्रताप राणाले एक कार्यक्रम बीच समापन गरेकाछन् ।
नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, डोल्पा, मुगु, हुम्ला, जुम्ला र बर्दिया जिल्लाका विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो ।
पाँच दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।
नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रीय तथा सबै पृतना स्तरमा सञ्चारकर्मीहरुलाई समावेश गरी रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।