उपप्रधान तथा रक्षामन्‍त्रीको छाता प्रकरणबारे स्वकीय सचिव श्रेष्ठले दिए स्पष्टीकरण

रिपोर्ट नेपाल | 2018 Sep 02 | 03:32 pm 1900

काठमाडौं, भदौ  १७ : बिमस्टेक शिखर सम्मेलन(१४– १५ भदौ २०७५ ) सम्पन्न भयो । सम्मेलनमा आएका सरकार प्रमुखहरू स्वदेश फर्की सकेका छन् । सरकार प्रमुखहरूको बिदाइ र स्वागतको ‘कमाण्ड’मा खटेका थिए, सरकारका उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल । स्वागत र बिदाइका अनेक तस्बिर आए । तर, ती मध्ये थाई प्रधानमन्त्री प्रयुत चाओचा स्वदेश फर्किँदाको तस्बिर भने सामाजिक सञ्जालमा भाइरल भयो ।

यो तस्बिरमा थाई प्रधानमन्त्री चाओचाले आफै छाता ओढेका देखिन्छन् भने पोखरेललाई पछाडिबाट कसैले छाता ओढाई दिएको छ । यो तस्बिर सामाजिक सञ्जालमा आएपछि पोखरेलको तीव्र आलोचना भयो । आलोचकहरूले लेखे,‘थाई प्रधानमन्त्री ‘असाध्यै सरल’, उपप्रधानमन्त्री पोखरेललाई ‘सामन्ती चरित्रका ।’ खासमा भएको के थियो त ? यो तस्बिरको बारेमा मन्त्रीका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठको भनाई जस्ताको तस्तै :-

दिपेन्द्र श्रेष्ठ

लेख्नैपर्ने भएपछि लेख्दछु, तल राखिएको फोटोका बारेमा एक प्रत्यक्षदर्शीको हैसियतले यथार्थ घटना जानकारी गराउन खोज्दै छु।

बिमस्टेकमा सहभागी हुने अति विशिष्ट पाहुना (राष्ट्रपति र प्रधानमन्त्री) हरूलाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत/बिदाइ गर्ने सरकारको योजना बमोजिम २०७५ भाद्र १५ गते पनि उहाँसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित हामी दिउँसो १२.३० बजे विमानस्थलको विशिष्ट व्यक्तित्वलाई स्वागत र बिदाइ गर्ने स्थलमा पुगिसकेका थियौँ।

दिउँसो १ बजे बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई बिदाइ गरेपछि १.३० बजे थाइल्यान्डका प्रधानमन्त्री चाङ–ओ–चा निर्धारित समयमै विमानस्थल पुग्नुभयो। उहाँलाई गाडीबाट स्वागत गरी सम्मान गर्ने स्थलमा पैदल स्कर्टिङ गरिरहँदा एक्कासी सिमसिमे पानी पर्‍यो।

मौसममा आउने सामान्य परिवर्तनले यस्तो विशिष्ट व्यक्तिका लागि निर्धारित तालिका र व्यवस्थालाई परिवर्तन गरेर ‘एक छिन रोकौँ’ भन्ने कुरा भएन, पैदल स्कर्टिङ अगाडि बढिरह्यो। यही निमेषमै एक जना नेपाली सेनाका साथीले एउटा छाता लिएर आउनुभयो र उपप्रधानमन्त्रीज्यूले स्वाभाविक हिसाबले अतिथि थाइल्यान्डका प्रधानमन्त्रीलाई ओढाइदिन निर्देशन दिनुभयो र सेनाका ती साथीले त्यसै गर्नुभयो। सेनाका ती साथीभन्दा थाइल्यान्डका प्रधानमन्त्री अग्लो भएकाले छाता ओढाइ अलि अप्ठ्यारो भएपछि थाइल्यान्डका प्रधानमन्त्रीज्यूले छाता आफैँ बोक्नुभयो र यात्रा अगाडि बढ्यो।

यत्तिकैमा नेपाली सेनाका अरू साथीहरूले पनि केही छाता बोकेर पछाडिबाट कुदेर आउनुभयो र उपप्रधानमन्त्रीसहित अन्य महानुभावहरूलाई पानीबाट जोगाउने प्रयास गर्नुभयो। बिदाइ कार्यक्रममा फोटोमा देखाइएका भन्दा अरू धेरै जना उच्च तहका नेपाल तथा थाइल्यान्डका पदाधिकारीहरूको उपस्थिति थियो। यद्यपि, व्यक्तिलाई रुझाउने खालको पानी अवश्य थिएन, मसिनो सिमसिम पानी परिरहेको थियो। बिदाइ गर्ने स्थलमा पुगेपछि उपप्रधानन्त्रीज्यूले पाहुनालाई फुलको गुच्छा प्रदान गरी बिदाइ गर्नुभयो।

फुलको गुच्छा लिने बेलामा पाहुना थाइल्यान्डका प्रधानमन्त्रीज्यूले छाता फेरि नेपाली सेनाका साथीलाई सुम्पनुभयो र फुल स्विकारी अगाडि तयार भइसकेको स्कर्टसहितको गाडी चढ्नुभयो। राष्ट्रको औपचारिक समारोह भएकाले प्रशस्त पत्रकार तथा क्यामरापर्सनहरू तयारी अवस्थामा हुनुहुन्थ्यो र सम्पूर्ण घटना क्यामेरामा कैद गरिरहनुभएको थियो। लेख्दा लामो भए पनि यो विवरण लगभग १० सेकेन्डभित्रको घटना हो।

यही निमेषको घटनामा खिचिएका सयौँ फोटोमध्ये एक फोटोमा आधारित भएर समग्र व्यक्तिको चरित्रसँग तुलना गरेर फेसबुकमा चासोहरू व्यक्त भइइरहे। यो स्पष्टीकरण हाम्रा असल नियतका साथीहरूका लागि सम्प्रेषण गरिएको हो, जो यथार्थ जानकारी नहुँदा फेसबुकमा आएका तुच्छ शब्दहरूबाट दुःखित तर ‘डिफेन्सिभ’ हुनुभएको छ।

नियत नै बांगा भएका महानुभावहरूलाई यो समय खर्चनु आवश्यक थिएन र खर्चेको पनि होइन। मसिनो घटनालाई अतिरञ्जित गरी प्रस्तुत गर्ने र त्यसलार्इ विश्वास गर्ने महानुभावहरूप्रति रिस हैन, दया लागेको छ र चिन्ता पनि लागेको छ- हाम्रो समाजमा यस्ता महानुभावहरूको उपस्थिति छ भनेर।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.