यो महिना हिमालबाट ४८ करोड राजस्व संकलन

रिपोर्ट नेपाल | 2022 May 20 | 11:19 am 1609

काठमाडौं, जेठ ६ः हिमाल आरोहणका लागि अनुमती प्रदान गरेवापत पर्यटन विभागले यस महिना ४८ करोड एक लाख १९ हजार ५०१ रुपियाँ राजस्व संकलन गरेको छ । विभागले २७ वटा हिमाल आरोहणका लागि १२३ आरोहणदलबाट उक्त राजस्व संकलन गरेको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

कोरोना भाईरस (कोभिड–१९) महामारी पछि यस वर्ष पदयात्रा र पर्वतारोहण क्षेत्रमा चहलपहल सुरु भएको छ । अध्यागमन विभागको तथ्याङकअनुसार पर्यटकको आगमनलाई हेर्दा पर्यटन क्षेत्र पुरानै लयमा फर्कन सुरु गरेको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिए ।

विभागले यस महिना ७५८ पुरुष र २१० महिला गरी ९६८ आरोहीलाई २७ हिमाल  आरोहणका लागि पर्यटन विभागबाट अनुमती लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै सगरमाथाबाट ३९ करोड ९५ लाख ६२ हजार ३५० रुपिँया राजस्व संकलन भएको छ भने ल्होत्सेबाट दुई करोड ८४ लाख २९ हजार ७२२ रुपिँया, कञ्चनजंगाबाट एक करोड ३० लाख ८४ हजार ६५० रुपिँया राजस्व संकलन भएको छ ।

यी आरोहीहरु विश्वभरका ७४ वटा देसबाट नेपालका हिमाल आरोहणका लागि आएको विभागको तथ्याङक छ । सगरमाथा आरोहणका लागि मात्र ५८ वटा देशबाट ३१९ जना आरोहीले अनुमती लिएका छन् । साभार गाेरखापत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.