दाङ, साउन २३ः नेपाली कांग्रेसका नेता स्व खुमबहादुर खड्काका छोरा अनुराग खड्काले गृहजिल्ला दाङको देउखुरीमा स्वास्थ्य सामग्रीहरू वितरण गरेका छन् ।
खड्काले विश्वभर फैलिएको कोरोना महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर जनताको सेवामा खटिएका देउखुरीका सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
उनले गरेका सहयोग सामाग्रीमा तापक्रम नाप्ने थर्मल गन, सेनिटाइजर, पीपीई सेट, सर्जिकल मास्क, एन–९५ मास्क, साबुन, फेससेभर लगायतका सामग्री रहेको जनाएका छन् ।
खड्काले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षार्थ खटिदै आएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको बताएका छन् । साथै, उनले भालुबाङमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पनि स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
सामाग्री बितरणका क्रममा नेता खड्काले कोरोना भाइरसको संक्रमणबाट बचाउन सुरक्षाकर्मीहरूले ठूलो भूमिका खेलेको बताएका छन् ।
सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूलाई सुरक्षित बनायौँ भने जनता सुरक्षित हुन सक्छन् । उनले भने । सोही कारण पहिला सुरक्षाकर्मीलाई र त्यसपछि स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्यका सामग्रीहरू वितरण गरिनेछ बताए ।
युवा नेता खड्काले काठमाडौंबाट करीव १५ लाख बराबरको स्वास्थ्य सामग्री लिएर देउखुरी आएका हुन् ।
नेता खड्काले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरी, दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, कांग्रेस नेता जानकीलाल बस्नेत, अनुराग यादब, कर्णबहादुर बुढाथोकी लगायतलाई सँगै राखेर स्वास्थ्य सामग्रीहरू वितरण गरेका थिए ।