काठमाडौं, माघ १७ : युएई भ्रमणमा रहेको नेपाललाई घरेलु टोलीले पहिलो टी-ट्वान्टीमा १५४ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो।उसका लागि साइमन अनवारले सर्वाधिक ५९ रनको योगदान दिए। यस्तै मोहम्मद उस्मानले ३० रन बनाउँदा सिपी रिजवानले २२ रन जोडे। अन्तिममा मोहम्बद बोताले २० रन जोडेका थिए।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ विकेट लिँदा सोमपाल कामी र अभिनास बोहोराले १-१ विकेट लिए । अभिनासको टी ट्वान्टी अन्तर्राष्ट्रियको डेब्यू खेलमै विकेट लिएका हुन्। ४ ओभर बलिङ गरेका बोहोराले ३६ रन खर्चिएर १ विकेट लिए।
यस्तै सन्दीप लामिछानेले पनि टी ट्वान्टीमा डेब्यू विकेट लिए। यसअघि २ खेल खेलेका सन्दीप विकेट बिहिन थिए। तर आज युएई विरूद्धको पहिलो खेलमै २ विकेट लिएका हुन्। उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिए।