युवा पलायन रोक्न सुझाव

रिपोर्ट नेपाल | 2021 Jul 27 | 07:26 am 2657

काठमाडौँ, साउन १२ः अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दिगो विकासको आधार तयार गर्न आफू क्रियाशील रहने बताएका छन् ।

नेपाली काँग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिसँगको भेटमा उनले आमनागरिकको जीवनमा रूपान्तरण ल्याउनका लागि तल्लो तहमा अनुभूत हुनेखालका उद्यमशीलता विकास कार्यक्रम लागू गर्ने र ती उद्यमको दिगो सञ्चालन आफ्नो प्राथमिकतामा रहने पनि बताए ।

नेपाली काँग्रेसका तर्फबाट सांसदसमेत भएका उद्यमी तथा समितिका संयोजक विनोद चौधरी तथा सहसंयोजक अनिल रुगटालगायतका पदाधिकारीले अर्थमन्त्री शर्मालाई भेटेर वर्तमान अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा विभिन्न सुझाव दिएका थिए ।

उद्यमी चौधरीले कोभिड–१९ को अवस्था र आर्थिक सङ्कटकै बीचमा प्राकृतिक प्रकोपले समेत ठूलो क्षति पुयाएको उल्लेख गर्दै आमजनताको आयआर्जनको सुनिश्चितताका लागि सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए । उनले हालको विषम परिस्थितिमा उत्पादन वृद्धि गरी आन्तरिक खपत र निर्यात बढाउनसके मात्र अर्थतन्त्र चलायमान हुनुका साथै सबल र स्थायित्व प्राप्ति हुने, रोजगारीका अवसरसँगै आमजनताको आयआर्जनमा सुधार हुने उल्लेख गरे ।

संयोजक चौधरीले मुलुकभित्र उद्यमशीलता विकासका लागि ‘गरिखाने अभियान’ सञ्चालन गरिरहेको समितिले बैङ्क तथा वित्तीय संस्थाका छ हजार शाखामार्फत प्रत्येकबाट कम्तीमा १० वटा सहुलियत कर्जा प्रदान गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्नसके ६० हजार नेपाली युवालाई उद्यमी बनाउन सकिने सुझाव पनि दिए । उनले एउटा उद्यममा न्यूनतम तीन जना मात्र रोजगार भएको खण्डमा पनि वार्षिक करिब दुई लाख रोजगारी सिर्जना हुने बताए ।

समितिका सहसंयोजक अनिल रुगटाले श्रम बजारमा आउने चार लाखमध्ये आधा श्रमशक्तिलाई यहीँ रोजगारी सिर्जना गरेर बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्ने बताए ।

अर्थमन्त्रीसमक्ष पेस गरिएको सुझावमा समितिले बैङ्क तथा वित्तीय संस्थाले कम्तीमा पनि हरेक प्रदेशमा दिगो बैङ्किङमार्फत सहुलियत कर्जा कार्यक्रमलाई सहजीकरण गरी उत्पादनमूलक र दिगो विकास लक्ष्यलाई सहयोग गर्ने क्षेत्रमा लगानी गराउनु वाञ्छनीय हुने उल्लेख गरेको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.