युवा आकर्षण–सपनाको खाँचो

रिपोर्ट नेपाल | 2019 Jan 10 | 02:31 pm 3538

युवा शक्ति परिवर्तनको संवाहक र सुत्रधार हो । पार्टीलाई सुधार गर्न र यसमा परिवर्तन ल्याई नयाँ उर्जा थप्न युवावर्गको भूमिका महत्वपूर्ण छ । युवा उमेरले मात्रै हैन विचारले युवा हुनुपर्छ ।

परिवर्तन र सुधारको पक्षमा उभिएर प्रगतिशील र समतामुखी समाजको अगुवाई गर्ने आँट र साहसका साथ समाजको अगुवाई गर्न अघि सर्नुपर्यो । काँग्रेसमा सुधार ल्याउन सके समुन्नत समाज निर्माण गर्ने नेपाली काँग्रेसमा प्रशस्त ठाँउ छ । नेपाली काँग्रेसको नयाँ नेतृत्वको जग विद्यालयहरुबाटै बन्दै आएको छ ।

भविष्यको सुनदर सपना बोकेर रबीन्द्रनाथ टैगोरले भने जस्तै–“ईश्वर मलाई भविष्यको त्यो स्वर्गमा पुर्याउन जहाँ मन निर्धक्क हुन्छ, शीर झकेको हुँदैन” भन्ने सपना बोकेर युवाहरु नेपाली काँग्रेसको संघर्षमा होमिएका हुन् । आफ्नो व्यक्तिगत लाभ हानी, पारिवारिक सुख केही नभनी, भविष्यको उज्यालो कतै नदेखिँदा पनि खतराको परवाह नगरी जीवन जोखिममा राखेर हिजोको संघर्षहरुमा, पञ्चायतको लामो कालरात्रीमा वर्षौ वर्ष जेलका कालकाठरीमा बिताउन सहज रुपले तयार तथा लाठी गोली सबैले खेप्न तयार युवा पुस्ता अझै कृयाशील छ ।

तुलानात्मक युवा लोभ र स्वार्थबाट टाढा हुन्छन् । आदर्शको नजिक हुन्छन् । त्यसै भएर समाजवादी आन्दोलनलाई अघि बढाउन, परिवर्तनको वेगलाई तीब्र बनाउन, राजनीतिलाई सम्मनित क्षेत्र बनाउन, भ्रष्टाचार र विकृति, विसंगतिको उछितो काड्न युवा शक्ति महत्वपूर्ण छ ।

अब पनि स्वतन्त्रताको त्यो लडाइँ जारी छ । राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, सामाजिक र सांस्कृतिक स्वतन्त्रतामा समानताको जलप लागेको आदर्श र सिद्धान्त नै नेपाली काँग्रेसको जीवन मूल्य हो । यो कुरा नयाँ पीडिलाई जति सम्झाउन सक्छौं, समानतार स्वतन्त्रताको रक्षा काँग्रेसबाटै हुन्छ भनेर जति बुझाउन सक्छौं त्यति नै युवा आकर्षण काँग्रेस प्रति बढ्दै जान्छ । युवा पुस्तामा लोतन्त्रको सिद्धान्त र आचारणलाई व्यवहारमा नै पुर्याउन अग्रज पुस्तामा लोकतान्त्रिक आचारण देखाइदिन पर्छ ।

आर्थिक, सामाजिक र राजनीतिक रुपले स्वतन्त्रता र समानता जीवनमा चरितार्थ गराउने नीति र कार्यक्रम नेपाली काँग्रेससँगै छन् भनेर पुष्टि गरिनुपर्छ । कसरी के कस्ता नीति र कार्यक्रमहरुबाट हाम्रो जीवन आर्थिक रुपले सुविधाजनक र सामाजिक रुपले सम्मानजनक हामीले गराने छौं भनेर दृष्टान्त प्रस्तुत गरिनुपर्छ ।

युवा वर्ग र आमजनतामा निराश पैदा हुनुको मुख्य कारण–सिद्धान्त र व्यवहारमा अन्तर देखिनु कथनी र करनीमा फरक हुनु नै हो । देशमा त्यो अवस्था रह्यो विचार र सिद्धान्तभन्दा अवसरवाद बढी हावी भयो । निष्ठा र आदर्शको राजनीति पछि पर्यो । सामदामको राजनीति अघि बढ्यो । यसले सर्वत्र निराशा जन्माएको छ । तर, यहाँ हाम्रा संगठन पक्षले नेविसंघलाई लथालिंग पारिसकेको छ,तरुणदललाई अपांग बनाएको महिलासंघ कहाँ पुग्यो ? भन्ने कुर तममा नेपाली काँग्रेसीले बुझ्न जरुरी छ । पार्टी भित्रको यो रोगको निदान जरुरी छ । युवाहरुमा राजनीति प्रति नै वितृष्णा चरम रुपमा फैलदैछ ।

सिद्धान्त रव्यवहार–कथनी र करनीमा अरुको भन्दा कम्युनिस्टको बढिनै फरक देखिएको छ । नेपालका कम्युनिस्ट नेताले जनता र कार्यकर्तालाई कस्तो सिद्धान्त पढाएर संघर्षमा होमे र आज व्यवहारमा के गर्दैछन् ? माक्र्सवादले, साम्यवादले दुनियाँलाई के सपना देखाए, आज दुनियाँमा के हुँदैछ ? नेपालको युवा के सपना बोकेर संघर्षमा होमिए, आज नेपालमा के भइरहेछ ? नेपाल कम्युनिस्ट पार्टी त्यत्रो बहुमतका साथ सत्तामा पुगेको छ, काम गर्न उसलाई कुनै अवरोध छैन तर हिजो भनिएका कुरा किन लागू भएनन् ? साम्यवादको स्वर्ग कहाँ गयो ? त्यतातिर पाइला किन चालिएका छैनन् ? यही अन्तरद्वन्द, यही विरोधभाष आज आम निराशाको कारक बनेको छ ।

आजको लोकतन्त्रवादी शक्तिले युवा वर्गको यो भावनालाई बुझ्न सक्नुपर्छ, त्यसलाई समात्न सक्नुपर्छ र त्यही ठाउँबाट राजनीति अघि बढाउनुपर्छ ।

अब नेपाली काँग्रेसले युवाशक्तिको राजनीतिक, आर्थिक र सांस्कृतिक रुपले भविष्य सुनिश्चित गराउन नेपालमा नयाँनयाँ प्रविधि भित्र्याई कृषिक्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकासमा जोड दिनेछ ।

युवाको शारीरिक र मानसिक विकासका लागि खेलकुदको विकास, नेपाली संगीत र संस्कृतिको विकास, नयाँनयाँ उद्यमशीलताको विकास, शीप विकास, कुनैनकुनै काममा सिपालु र शीलवान नागरिक तयार पार्न उन्नत तालिमको व्यवस्थापन मिलाउने छ ।

मूल रुपले आर्थिक, सामाजिक नीति र कार्यक्रमद्वारा भविष्यका कर्णधारहरुलाई विदेशका अपठ्यारा जोखिमपूर्ण कामहरुमा भौतारिन र आफ्नो खाउँखाउँ र लाउँलाउँको जोवन आफ्ना प्रियजनबाट विछोडिएर बस्नुपर्ने बाध्यताबाट मुक्त गर्नेछ । गुणस्तरिय शिक्षा र स्वास्थ्यको व्यापक प्रवन्ध गरेर स्वस्थ, सुखी र उन्नत जीवन दिलाउने छ ।

यो सबै काम स्वतन्त्रताको उज्यालो घाम र समानताको शीतल जुन सँगसँगै गरिनेछ । काँग्रेसको लोकतान्त्रिक समाजवादको लक्ष्य यही नै हो । यसलाई व्यवहारमा बुझ्न आजको युरोपका समाजलाई हेरौं ।

आज काँग्रेस युवाहरुमा विद्यमान नैराश्य अन्त्य गर्न चाहन्छ । काम गर्न रमाइलो हुने र सहज हुने प्रविधि भित्र्याई वा विकास गर युवालाई उत्पादनशील क्षेत्रमा क्रियाशील र स्वाबलम्बी बनाउन चाहन्छ ।

हामीले अहिलेसम्म कठिन संघर्ष गरेर देशमा व्यवस्थाको टुंगो लगाई राजनीति स्थिरता कायम गराएको मात्र होइन प्रतिकूल परिस्थितिका बाबजुद पनि देशभर ग्रामीण विकासको जग बसालेका छौं ।

हामीले अब ५–७ वर्षको समय पायौं भने कमसेकम हाम्रा युवायुवतीलाई रोजगारी र आमदानीका लागि विदेशतिर भौतारिनु पर्ने बाध्यताबाट मुक्त गराउने छौं । तयसैले युवा वर्गमा जागृति ल्याई खजमिन खोजेको राजनीतिलाई फेरि सुधार गरौं ।(रामचन्द्र पौडेलद्वारा लिखित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.