युनाइटेड प्याकेजिङ प्रालिमा भीषण आगलागी

रिपोर्ट नेपाल | 2019 Sep 24 | 08:01 am 1653

चितवन, असाेज ७ मंगलबार भरतपुर महानगरपालिका–४ नारायणगढ बाह्रघरेमा रहेको कागजका कार्टुनहरु उत्पादन गर्ने कारखाना युनाइटेड प्याकेजिङ प्रालिमा भीषण आगलागी भएको छ । लगातार रूपमा परेको चट्याङपछि कारखानामा एक्कसी आगोको मुस्लो देखिएको स्थानीयले बताए । कारखानाका सञ्चालक भद्रनारायण पियाले बिहान पौने तीन बजेतिर आगलागीको खबर पाएको जानकारी दिए ।

सञ्चालक पियाका अनुसार चट्याङकै कारण आगलागी भएको अनुमान गरेका छन् । आगलागीबाट त्यस कारखानामा उत्पादन भएका कार्टुनहरु र कार्टुन उत्पादन गर्न गोदाममा राखेका कागजका ठूल्ठूला रोलहरु सबै जलेर नष्ट भएको छ । आगोको ठूलाे लप्का (ज्वाला) नियन्त्रणमा आएको छ तर, कागजको थुप्रोमा लागेको सबै खाले आगो निभाउन १० बजेसम्म लाग्ने घटनास्थलमा खटिएका प्रहरीले बताए । आगलागीको क्षतिको अनुमान गर्न तत्काल सम्भव नभएको जानकारी प्राप्त भएकाे छ ।

आगो भरतपुर महानगरपालिकाका दुईवटा र खैरहनी र कावासोती नगरपालिकाका एक एकवटा दमकलले  निभाइरहेका छन् । घटनास्थलमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी पनि आगो निभाउन खटेको छ । घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको छैन । समयमै दमकल र उद्धारकहरु आएका कारण आगो अन्यत्र फैलन नपाएको स्थानीयले बताए । कारखाना नजिकै बस्तीका आवासीय घरहरु छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.