युद्धमा लगाउने डरले रूसका पुरुष देश छाड्दै

रिपोर्ट नेपाल | 2022 Sep 24 | 07:41 am 1489

किभ (बीबीसी) असाेज ८: युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयबाट बच्न रूसी पुरुषहरूले देश छाड्न थालेका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए। उक्त निर्णयसँगै थप तीन लाख मानिसले युद्धमा सामेल हुनुपर्ने देखिएको छ। यो निर्णयसँगै रूसको सिमानामा लामा लामहरू देखा परेका छन् त्यसमा धेरै पुरुष छन्।

यद्यपि क्रेमलिनले लडाकु उमेरका पुरुषहरू भागेको भन्ने विवरणहरू अतिरञ्जित भएको बताएको छ। तर, जर्जियासँगको सीमामा युद्धबाट भाग्न खोज्ने पुरुषसहितका सवारीसाधनका कैयौं किलोमिटर लामा ताँती बनेका छन्।

नाम खुलाउन नचाहने एक व्यक्तिले बीबीसीका रेहान दिमित्रीलाई राष्ट्रपति पुटिनको घोषणालगत्तै आफू आफ्नो राहदानी समातेर सीमातर्फ हिँडेको बताए। उनी पनि युद्धका लागि पठाउन सकिने सम्भावित समूहमा परेका थिए।

केही प्रत्यक्षदर्शीले अपर लार्स जाँचचौकीमा कारहरूको लाइन करिब पाँच किलोमिटरसम्म लामो भएको अनुमान गरेका छन्। त्यस्तै अर्को समूहले सीमा पार गर्न सात घण्टा लागेको बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.