युगाण्डामा डुङ्गा दुर्घटना, २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका

रिपोर्ट नेपाल | 2018 Nov 25 | 04:50 pm 1848

काम्पाला, मंसिर ९ :  युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ ।

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गरिएको छ, युगाण्डा प्रहरीका निर्देशक असुमान मुगेन्यीले भने ।

डुङ्गा दुर्घटनामा बाँच्न सफल एकजना यात्रुले दिएको जानकारी अनुसार डुङ्गामा झण्डै ९० जना यात्रु रहेका थिए । राजधानी काम्पाला नजिकै पर्ने मुकोनो जिल्लाको भिक्टोरिया तालमा डुङ्गा सफारीका क्रममा यो दुर्घटना भएको हो । डुङ्गामा रहेकाहरु अधिकांशले मदिरा सेवन गरेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

काम्पालका प्रहरी प्रवक्ता लुके ओवेयेसिगिरले घटना भएको पुष्टी गरेपनि आधिकारिक पूर्ण विवरणहरु भने अझै आइनसकेको बताए । युगाण्डामा डुङ्गा दुर्घटना बेलाबेलामा हुने गरेको छ । डुङ्गा दुर्घटनाकै कारण युगाण्डामा बर्सेनि सयौंको ज्यान जाने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.