काठमाडौं, पुस २६ : यूएईको आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र परेका छन् । आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत उनीहरु अलपत्र परेका हुन् । कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेको र कम्पनीको व्यवस्थापकका लापरबाहीका कारण कम्पनीका झन्डै ७ सय जना कामदार अलपत्र परेका हुन् । तीमध्ये डेढ सयजना नेपाली छन् ।
राजधानी आबुधाबीदेखि झन्डै २८ किलोमिटर टाढा रहेको मुसाफा ४० नम्बर मजदुर क्याम्पमा उनीहरु अहिले अलपत्र अवस्थामा छन् । कम्पनीमा कार्यरत नेपालसहित भारत, बाङ्लादेश, पाकिस्तान श्रीलंकालगायत देशका झन्डै ७ सय जना कामदार अहिले समस्यामा परेका हुन् ।
‘एउटै कोठामा २१ जनासम्म सुतिरहेका छौँ, क्याम्पको दोस्रो तल्लामा नेपालीहरु छौँ’ कन्चनपुरका गणेश सिंह महराले भने, ‘कतिपय क्याम्पभन्दा बाहिर साथीभाइको सहयोगमा बसिरहनुभएको छ ।’ बिरामी हुँदा उपचार गर्नसमेत नपाएको पीडितहरुको भनाइ छ ।
कम्पनीमा १८ महिनादेखि झन्डै ५ वर्षसम्म काम गरेका उनीहरुमध्ये धेरैले गएको ९ महिनादेखि तलब पाएका छैनन् । ‘केहीले ९ महिना र अरुले ६ महिनाको तलब पाएका छैनौं’ कम्पनीमा ५ वर्ष पहिलेदेखि कार्यरत नवलपरासीका मिनबहादुर जिसीले बताए। अलपत्रमध्ये ६४ जना १८ महिना पहिले युएई आएका वीरगन्जका मकुन पट्टेलले बताए। १८ महिना पहिले आएकाहरुले पनि ९ महिनादेखि तलब पाएका छैनन् ।
९ महिनादेखि तलब नपाएका २५ जनाले यहाँको श्रम अदालतमा मुद्दा दर्ता गरेका छन् । तीमध्ये ३ जनाले पासपोर्ट पाए पनि भिसा सकिएर (ओभर स्टे) बसेबापतको जरिवाना तिर्न नसक्दा नेपाल फर्किन पाएका छैनन् ।
‘मासिक तलब पाएनौं, मुद्दा गर्यौँ, गएको असोज १८ गते आबुधावीको नेपाली दूतावासमा पुगेर समस्याबारे मौखिक जानकारी गराएका थियौं, अहिलेसम्म कुनै पहल भएन’ झापा ८ भद्रपुरका नारायण गुरुङले भने। मौखिक जानकारी गराउँदा पहल नभएपछि एक हप्ता पहिले लिखित निवेदन दिएर दूतावास धाइरहेको पीडितहरुले बताए ।
भारतीय दूतावासले दिएको खानाले गुजारा चलाउँदै
कम्पनीले काम गरे अनुसारको सेवा सुविधा नदिएपछि कामदार अलपत्र परेकोबारे यूएईमा रहेका भारतीय संचार माध्यममार्फत खबर बाहिरिएको थियो । त्यसपछि भारतीय दूतावासले चासो देखाउँदै कामदारलाई क्याम्पमै पुगेर भेटेको थियो।
भारतीय दूतावास र भारतीय संघसँस्थाले अलपत्र कामदारलाई दैनिक खाना उपलब्ध गराउँदै आएको छ । भारतीय कामदारलाई दिएको खाना अरु देशका कामदारले समेत बाँडेर खाने गरेको नवलपरासी अरुणखोलाका युवराज खडालुकले बताए। ‘मंगलबार दिउँसो क्याम्पमा पानी बिजुली समेत काटिएको छ, खानाको समस्या त थियो, पानी बिजुली पनि काटियो’ सुर्खेतका बिष्णुप्रसाद कोइरालाले भने।
कम्पनीमा आएका सबै कामदार नेपालबाट सीतापाइलामा रहेको सन हिल्स म्यानपावरबाट युएई आएका हुन । सनहिल्स म्यानपावरका संचालक सूर्य अधिकारीसँग पनि सम्पर्क गरिरहेको, तर सहयोग नपाएको पीडितहरुले बताएका छन्। ‘हामी यहाँ समस्यामा परेका छौं, नेपालबाट फेरि यही कम्पनीमा अरु कामदार पनि ल्याइँदै छ भन्ने सुनेका छौं, पोखरा बागमराका रामजी पौडेलले भने।